इन्जिनमा समस्या आएपछि टर्किसको वाइडबडी विमान टेकअफ नगरी पार्किङ-वेमै फर्काइयाे 

उक्त विमानमा चालकदलसहित कुल २०६ जना सवार थिए।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Turkish wide-body plane returns to parking lot without taking off after engine problem

काठमाडौँ — काठमाडौंबाट इस्तानबुलका लागि उडान भर्नै लागेको टर्किस एयरलायन्सको वाइडबडी विमान इन्जिनमा समस्या देखिएपछि पुनः पार्किङ वेमै फर्काइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमान पार्किङ वेबाट पुसब्याक भई धावनमार्गतर्फ अघि बढिसकेको थियो । टेकअफको तयारीमा धावनमार्गको करिब आधा भागसम्म रोल गरिसकेपछि पाइलटले इन्जिनमा प्राविधिक समस्या महसुस गर्दै टेकअफ ‘रिजेक्ट’ गरी विमान पुनः पार्किङ वेमा फर्काएका हुन् ।

एयरपोर्ट अपरेसन विभागका निर्देशकसमेत रहेका बस्नेतका अनुसार पार्किङ वेमा ल्याएपछि प्राविधिक टोलीले विमानको विस्तृत जाँच गरेको थियो। जाँचपछि विमान पुनः उडानका लागि योग्य रहेको रिपोर्ट प्राप्त भएको छ।

उक्त विमानमा चालकदलसहित कुल २०६ जना सवार थिए। काठमाडौं–टर्की उडान एकतर्फी करिब ८ घन्टा लामो हवाई मार्ग हो । जसबाट युरोप, अमेरिका तथा क्यानडा जाने यात्रुहरूको उल्लेख्य चाप हुने गरेको छ ।

कान्तिपुर

Link copied successfully