रेशम चाैधरीकाे रिटमा अन्तरिम आदेश अस्वीकार, उम्मेदवार हुन नपाउने 

टीकापुर काण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Resham Chaudhary's writ petition denied interim order, barred from running as a candidate

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेकाे हो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुनु भनी अदालतले बोलाएको छ । सर्वोच्चले उम्मेदवारी खारेजविरुद्ध अन्तरिम आदेश जारी नगरेपछि उनी उम्मेदवार हुन नपाउने भएका छन् । 

कैलाली-१ बाट उनले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेसँगै उनी सर्वोच्च अदालत पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-१ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।

कान्तिपुर

Link copied successfully