राष्ट्रिय सभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो

फागुन २० देखि राष्ट्रिय सभामा रिक्त हुने १७ पदका लागि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

More than 50 percent of the votes were cast in the National Assembly elections.

What you should know

काठमाडौँ — राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।  

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ देखि सुरु भई अपराह्न  ३ बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।   

अहिलेसम्म कोशी प्रदेशमा ३१३, मधेशमा २२७, बागमतीमा २१७, गण्डकीमा १८०, लुम्बिनीमा १६३, कर्णालीमा १४५ र सुदूरपश्चिममा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

रिक्त हुने १८ पदमध्ये कोशीमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोशीमा खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका-४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको छ ।

यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कुल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।

कान्तिपुर

Link copied successfully