धरानका पूर्व नगर प्रमुख साम्पाङविरुद्ध चुनावी प्रचारमा बालबालिका प्रयोग गरेकामा उजुरी

धरान नगर बाल सञ्जालले आइतबार सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गर्दै बालबालिका प्रयोग गरेको विषयमा छानबिन तथा कारबाहीको माग गरेको हो।

माघ ११, २०८२

एलिना राई

Complaint filed against former Dharan mayor Sampang for using children in election campaign

What you should know

धरान — धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध चुनावी प्रचारमा बालबालिका प्रयोग गरिएको आरोपसहित उजुरी दर्ता भएको छ ।

धरान नगर बाल सञ्जालले आइतबार सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गर्दै बालबालिका प्रयोग गरेको विषयमा छानबिन तथा कारबाहीको माग गरेको हो।

बाल सञ्जालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरी कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै यसलाई बाल अधिकारको गम्भीर उल्लंघनका रूपमा लिइएको छ।

उजुरी बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा दर्ता गराएका हुन्। उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९(७) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।

नगर बाल सञ्जालले हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई आवश्यक छलफल र छानबिन गर्दै निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा गठित समितिले उजुरी अध्ययन गर्नेछ र आवश्यक परे तालुक निकायमा पत्राचार गरिनेछ। साथै, जिल्ला अनुगमन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई अनुगमन अधिकृत तोकिएको उनले बताए ।

घिमिरेले भने, 'अनुगमनबाट बालबालिका प्रयोग गरिएको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्तासमेत खारेज हुन सक्छ ।’ 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully