बाबुरामलाई रास्वपाले भन्यो- 'उम्मेदवारी फिर्ता लिएर अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नुस्'

उपसभापति वाग्लेले भनेका छन्- 'पूर्वप्रधानमन्त्रीका रूपमा उहाँले रास्वपालाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ ।'

माघ ९, २०८२

कान्तिपुर संवाददाता

The Rashtriya Swayamsevak Sangh (RSS) told Baburam to withdraw his candidacy and set an exemplary patriotic example.

What you should know

काठमाडौँ — गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको छ । 

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा विशेष आग्रह गर्दै अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्न भनेका छन् ।

'पुराना दलहरूले राजनीतिक-सामाजिक सशक्तीकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्षसहित 'नयाँ शक्ति' को कल्पना डा. बाबुराम भट्टराईले गर्नुभएको हो,' वाग्लेले लेखेका छन्, 'तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्वप्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।'

फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारकाे राजनीतिक-प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा भट्टराईको अनुभवबाट सिक्दै धेरै गर्न बाँकी रहेको वाग्लेले उल्लेख गरेका छन् ।

'फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं,' उनले भनेका छन् ।

भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । गोरखा-२ बाट रास्वपाले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ ।कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेका मिलन गुरुङ (मिलन चक्रे) लगायत प्रतिस्पर्धामा छन् ।

कान्तिपुर

Link copied successfully