नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर प्रहरीको बुझायो

आफूलाई सक्कली अधिकृतजस्तो देखाउन शुक्रबार पनि उनी निजामती पोसाकमै आएका थिए ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

The Immigration Department took control of the fake officer and handed him over to the police.

What you should know

काठमाडौँ — गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको छ ।

यसरी नक्कली परिचय पत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी हुन् । आफूलाई सक्कली अधिकृतजस्तो देखाउन शुक्रबार पनि उनी निजामती पोसाकमै आएका थिए । परिचयको क्रममा उनले आफू ब्याच ३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।

उनले सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचय पत्र देखाई काठमाडौंको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाएको बुझिएको छ। एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकोले होटलका बाउन्सरले गृहका तिनै नक्कली अधिकृतसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए । सो अनुसार नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए । उनले निजलाई कालोसूचीमा राखिदिन समेत अनुरोध गरेको प्रवक्ता ढकालले बताए ।

नक्कली अधिकृतले यस अघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचय पत्र समेत लिएको खुलेको छ । अध्यागमन विभागको इन्टेलिजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचय पत्रमा कर्मचारी संकेत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको छ ।

कान्तिपुर

Link copied successfully