शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

यस वर्ष शुक्लाफाँटा क्षेत्रका ताल र सिमसारमा जलपन्छीको उल्लेख्य वृद्धि भए पनि बासस्थानमा अतिक्रमण, माछापालन र जलवायु परिवर्तनका कारण संकट बढेको छ ।

माघ ९, २०८२

रासस

More than 25,000 waterfowl of 82 species in Shuklaphanta

What you should know

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ ।

हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । 

सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र तथा निकुञ्ज बाहिरको पुरैनी ताल, रतनपुर सिमसार क्षेत्र र बन्दा ताललगायत क्षेत्रमा जलपन्छी गणना गरिएको हो । गत वर्ष करिब २१ हजार आठ सयको हाराहारीमा जलपन्छी गणना गरिएको थियो । यस वर्षको गणनामा सिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी जलपन्छी देखिएका छन् । 

नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) का वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनाका क्रममा महाकाली नदीमा ६४५, रानी तालमा २२७, राधापुर सिमसार क्षेत्रमा २१२, रतनपुर फार्मल्यान्डमा ६१८, तारातालमा ४५०, कालिकिचमा ५३, सिकारी तालमा सबैभन्दा बढी २० हजार ९४९, पुरैनी ताल बेलौरीमा एक हजार ५५४, नकैया सिमसारमा ७०, गडविजुला तालमा १३० र बन्दा ताल बेलौरीमा २८१ जलपन्छी देखिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, जेडएसएल शुक्लाफाँटा नेपाल, नेपाल पन्छी संरक्षण सङ्घ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमाली प्रकृति, आरडब्लु, नेचर गाइड एसोेसिएसन, रानाथारू होमस्टे, कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् सङ्घको संयुक्त सहभागितामा जलपन्छी गणना गरिएको हो ।

चराविज्ञ हिरुलाल डगौंराले विगतका वर्षको तुलनामा निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको देखिएको बताए । पुरैनीताल, बन्दाताल र रानीताल मिचाहा प्रजातिका वनस्पतिका कारण क्रमशः पुरिँदै जान थालेकाले संरक्षण अत्यावश्यक रहेको उनले बताए ।

डगौंराका अनुसार यस वर्ष महाकाली नदीमा पानीको बहाव कम देखिएको छ भने निकुञ्जभित्रको रानी तालमा नकर्ट, जलकुम्भी जस्ता वनस्पति फैलिँदा तालको सौन्दर्य घट्दै गएको छ । यद्यपि, सिकारी तालमा जलपन्छीको उपस्थिति अघिल्ला वर्षको तुलनामा निकै राम्रो देखिएकाले उत्साहजनक रहेको उनको भनाइ छ ।

'चराको सङ्ख्या बढे पनि बासस्थान भने सङ्कटमा पर्दै गएको छ,' उनले भने, 'सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन र जलवायु परिवर्तनका कारण जलपक्षीको बासस्थानमा चुनौती थपिएको छ ।'

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले तालहरूको निरन्तर संरक्षणका कारण जलपन्छीको सङ्ख्यामा सुधार देखिनु सकारात्मक सङ्केत भएको बताए । उनले सिमसार र चराचुरुङ्गीलाई संरक्षणमा मात्र सीमित नराखी पर्या–पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

'तालहरूको प्राकृतिक स्वरूप नबिग्रने गरी वैज्ञानिक व्यवस्थापन गर्दै चरा र सिमसारलाई पर्यटनको माध्यम बनाउनु आवश्यक छ,' उनले भने, 'चरा अवलोकनका लागि पर्यटक आउने ठूलो सम्भावना रहेकाले यसको व्यापक प्रचार–प्रसारसँगै संरक्षणमा सबै पक्षको सहकार्य अपरिहार्य छ ।'

रासस

Link copied successfully