नेपालमा शुक्रबारदेखि मौसम बदली हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ ।

माघ ८, २०८२

रासस

Weather to change in Nepal from Friday

काठमाडौँ — पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाए । 

शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना रहेको पनि ढकालले बताए । शनिबार  केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ ।

मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।

रासस

Link copied successfully