प्रमुख–उपप्रमुखविहीन बन्यो टीकापुर नगरपालिका

उपप्रमुख रहेका खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा अनियमिततामा संलग्नताको अभियोगमा ०८० माघ २५ गतेदेखि निलम्बनमा छन् भने नगर प्रमुख रामलाल डगौरा थारुले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन्

माघ ७, २०८२

अर्जुन शाह

Tikapur Municipality becomes without a mayor and deputy mayor

धनगढी — कैलालीको टीकापुर नगरपालिका प्रमुख र उपप्रमुखविहीन भएको छ । नगर प्रमुख रामलाल डगौरा थारुले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन पदबाट राजीनामा दिएका हुन् भने उपप्रमुख रहेका खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा अनियमिततामा संलग्नताको अभियोगमा ०८० माघ २५ गतेदेखि निलम्बनमा छन् ।

०७९ को स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख निर्वाचित डगौरा थारु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका छन् ।

उपप्रमुख समक्ष राजिनामा दिनुपर्ने प्रावधान भए पनि उपप्रमुखसमेत नभएकाले नगर प्रमुख डगौरा थारुले नगरसभा सदस्यलाई सम्बोधन गर्दै पदबाट राजिनामा दिएका थिए । उपप्रमुखविहीन बनेको नगरपालिका प्रमुखले पनि राजिनामा दिएपछि नेतृत्वविहीन भएको हो । 

नगर प्रमुख नहुँदा घरनक्सा पुनरावेदन, स्थानीय स्वास्थ्य बोर्ड, कार्यपालिकाको बैठक, नगर सभाको बैठक लगायत काम प्रभावित हुने नगरपालिकाका सूचना अधिकारी देवीराम आचार्यले बताए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully