ओखलढुङ्गामा एमालेबाट उम्मेद्वार सिफारिस भएका गुरुङले पाए नेकपाबाट टिकट

गुरुङको नाम जिल्लाबाट सिफारिस भएपनि उनलाई पाखा लगाएर केन्द्रले सिफारिसमै नरहेकी अस्मिता थापालाई टिकट दिएको थियो । यस निर्णयमा असन्तुष्टी जनाउँदै एमालेका ४ भातृ संगठनले ओखलढुङगा पार्टी कार्यालयमा ताला समेत लगाएका थिए ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Gurung, who was recommended as a candidate by UML in Okhaldhunga, received a ticket from the NCP.

खोटाङ — ओखलढुङ्गा एमालेबाट सिफारिस भएका अमिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार भएका छन् ।

एमाले केन्द्रले जिल्लाबाट सिफारिस नभएकी अस्मिता थापालाई टिकट दिएपछि असन्तुष्ट गुरुङले नेकपाको तर्फबाट उम्मेद्वारी दिएका हुन् ।

ओखलढुङ्गा एमालेले सिफारिस गरेका व्यक्तिलाई टिकट नदिएकोमा असन्तुष्ट जनाउदै एमालेका ४ भातृ संगठनले ओखलढुङगा पार्टी कार्यालयमा गत आइतबार ताला समेत लगाएका छन् ।

एमाले भातृ संगठनहरू राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले निर्णय सच्याउन माग गर्दै अनिश्चितकालका लागि ताला लगाएका थिए ।

त्यस्तै एमाले ओखलढुङ्गाका अध्यक्ष ज्ञानबहादुर खड्काले आइतबारै विज्ञप्ति जारी गरी जनवादी केन्द्रीयताको नाममा ओखलढुङ्गा जिल्ला कमिटीले गरेको निर्णय उल्ट्याएर आम पार्टी कार्यकर्ताहरूको मनोभावना विपरित गुटका लागि निर्णय गरिएकाले त्यस्ता व्यक्तिलाई सहयोग गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका थिए । 

एमाले ओखलढुङ्गाका उपाध्यक्ष कमल न्यौपानेका अनुसार पार्टी केन्द्रको पूर्वाग्रहले ओखलढुङ्गा जिल्ला कमिटीको निर्णयलाई उल्टाएर सिफारिस नभएको व्यक्तिलाई टिकट दिएर पठाएपछि भातृ संगठनहरूले ताला लगाएका हुन् ।

न्यौपानेका अनुसार उम्मेद्वारका लागि इच्छा राख्ने १८ मध्ये ५ जनाको नाम सिफारिस गरिएको थियो । सिफारिसमा परेका इश्वर पोखरेल, यज्ञराज सुनुवार, अमिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्कामध्ये एक जनालाई टिकट दिनु पर्नेमा नदिएर छलफलमा नामै नआएको व्यक्ति (थापा) लाई टिकट दिएको न्यौपानेले सुनाए । 

कान्तिपुर

Link copied successfully