मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले आकर्षण इन्टरनेसनल म्यानपावर कम्पनी र लालधनुष म्यानपावर कम्पनीमार्फत चार–चार सय जना श्रमिक लैजाने भएको हो ।
काठमाडौँ — मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने श्रमिकमध्ये ६ सय महिला श्रमिक छन्।
वेस्टर्नले आकर्षण इन्टरनेशनल म्यानपावर कम्पनी र लालधनुष म्यानपावर कम्पनीमार्फत चार–चार सय जना श्रमिक लैजाने भएको हो।
वेस्टर्न, आकर्षण र लालधनुष म्यानपावरले पत्रकार सम्मेलन गरेर शून्य लागतमा कामदार लैजानेबारे जानकारी दिएका हुन्। मलेसिया जाने श्रमिकहरूको सबै लागत खर्च कम्पनीले नै बेहोर्नेछ। जसमा राहदानी, बीमा, कल्याणकारी कोष, हवाई टिकट, सामाजिक सुरक्षा कोष, काठमाडौंमा होटलमा बसेको खर्च, घरदेखि काठमाडौंसम्म बसमा आउने यातायात खर्च समेत समेटिएको छ।
वेस्टर्नका प्रतिनिधि एडसनले यसअघि नेपालबाट लगिएका श्रमिकबाट प्रभावित भएर थप श्रमिक भर्ना गर्न लागिएको बताए। उनले भने, ‘यो हाम्रो दोस्रो चरण हो। म्यानपावर कम्पनीले पनि शून्य लागतको नीतिलाई कार्यान्वयन गर्ने कुराले हामी उत्साहित छौँ।’
आकर्षण इन्टरनेशनल म्यानपावर कम्पनीका अध्यक्ष विष्णु केसीले आफूले नैतिक भर्नाको अभ्यास पूर्ण रूपमा पालना गरेकोले रोजगारदाता कम्पनी पुनः नेपाल आएको बताए। यसअघि यही कम्पनीले सन् २०२२ मा तीन सय कामदार लगेको थियो। केसीले भने, ‘आकर्षणले १० वर्षदेखि शून्य लागतमा कामदार पठाइरहेको छ। अहिले हजारौँ कामदारले आवेदन दिएका छन्। यसमा कुनै लागत बुझाउनु पर्दैन। अहिले अन्तर्वार्ता चलिरहेको छ।’
लालधनुष म्यानपावर कम्पनीका निर्देशक निमा शेर्पाले आफूहरूले सुरुदेखि नै मानवअधिकारको सम्मान हुने हिसाबले श्रमिक पठाइरहेको बताइन्। उनले भनिन्, ‘यो नैतिक भर्ना सिद्धान्त मात्रै होइन। यो उत्तरदायित्व पनि हो। कामदारको मर्यादालाई हामीले कायम राख्नुपर्छ।’
नेपाल र मलेसियाबीच २०७५ मा शून्य लागतमा श्रमिक लैजाने गरी श्रम सम्झौता भएको थियो।
