बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने 

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Ravi Lamichhane released after paying bank guarantee

काठमाडौँ — रास्वपाका सभापति रवि लामिछाने प्रभु बैंकको बैक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो ।

पर्सा हाजिर भएका लामिछाने म‌ंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो । 

न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको र माग भएको रकम बुझाएर रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिए । 

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।

कान्तिपुर

Link copied successfully