खरेल मंगलबारमात्र रास्वपा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ललितपुर- २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मात्रै रास्वपा प्रवेश गरेका खरेलले ललितपुर- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । उनले सोमबार सूचना तथा सञ्चार प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।
रास्वपा ललितपुर- २ बाट खरेलले टिकट पाएपछि निर्वाचन क्षेत्रमा विवाद भएको थियो । ललितपुर २ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न खोजेका थिए । उनलाई पार्टीले ललितपुर १ बाट उम्मेदवार बन्न भनेको रास्वपा ललितपुरका एक नेताले जानकारी दिए । तर, उनी भने २०७९ को चुनावमा प्रतिस्पर्धा गरेको ललितपुर २ बाटै उम्मेदवार बन्न चाहेका छन् ।
२०७९ को चुनावमा प्रतिस्पर्धी बनेका बुद्धरत्नले ८ हजार ६६६ मत ल्याएको थिए । यो निर्वाचन क्षेत्रबाट एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाका महर्जन तेस्रो भएका थिए ।
