कांग्रेसका सहमहामन्त्री राणाले ललितपुर- १ बाट उम्मेदवारी दर्ता गराए

उदयशम्शेर राणा पुस २० देखि ३० सम्म भएको कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress Joint General Secretary Rana files candidacy from Lalitpur-1

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले ललितपुर निर्वाचन क्षेत्र नम्बर- १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा गएर राणाले उम्मेदवारी दर्ता गराएका हुन् । राणाले २०७९ को चुनावमा पनि यो क्षेत्रबाट प्रतिनिधिसभा सांसदमा जित हासिल गरेका थिए । उक्त निर्वाचनमा राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका नवराज सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका थिए ।

उम्मेदवारी दर्ता गरेपछि राणाले ललितपुर- १ का नागरिकबाट प्राप्त विश्वास र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको बताएका थिए । उनले यो क्षेत्रको विकास, शान्ति, सुशासन र सेवामूलक राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए । 

पार्टीभित्र नीतिगत बहस, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न राणा सक्रिय रहँदै आएका छन् । उनी पुस २० देखि ३० सम्म भएको कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।   

Nepali Congress Joint General Secretary Rana files candidacy from Lalitpur-1

कान्तिपुर

Link copied successfully