कालिकोटको पालातास्थित भेडीगोठमा आगलागीले ११ लाख ४१ हजारको क्षति 

५५ वटा भेडा जलेर मरे । आगो निभाउन खोज्दा भेडाधनी कृष्णलाल रोकाया घाइते

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Fire at a cattle ranch in Palata, Kalikot causes damage of Rs. 1.141 million

कालिकोट — कालिकोटको पलातास्थित एक भेडीगोठमा भएको आगलागीमा ११ लाख ४१ हजार ३ सय मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति पलाता ४ रिज्यूलेखस्थित भेडी गोठमा आगलागी हुॅदा पलाता ३ का ४९ वर्षीय कृष्णलाल रोकायाका ४५ भेडा खोरमै मरेका थिए । त्यस्तै, जलेर घाइते भएका १० वटा भेडा पनि भोलिपल्ट मरे । गोठमा लागेको आगो निभाउन लाग्दा भेडा धनी रोकाया पनि घाइते भए । उनको उपचार भइरहेको छ । 

भेडा र अन्य धनमाल गरी ११ लाख ४१ हजार ३ सय मूल्यको क्षति भएको मुचुल्का फिल्डबाट आएको डिएसपी हिमवहादुर खत्रीले बताए । भेडासहित अन्य सामान जलेको पनि मुचुल्कामा उल्लेख छ । उनले भने,‘भेडापालन गरेर जीविका चलाउने कृषकका लागि ठूलै क्षति हो ।’

७ वर्षदेखि ऋण लिएर भेडा पाल्दै आएको घाइतेका जेठा छोरा सूर्य रोकायाले बताए । ‘गरिबको प्रगति केही गरे पनि नहुने भयो,’ उनले भने,‘ऋण तिरेर नसक्दै सबै भेडा पोलिए, कसरी जीविका चलाउने आपत पर्यो ?’ 

उनले आगोमा जलेर मरेका भेडा गाउॅलेलाई मासु खान दिदाॅ २ लाख जति असुल हुने सुनाए । ‘त्यति त हुनुपर्ने हो,’ उनले भने,‘तै पनि दिन्छन् कि दिदैॅनन्, ठेगान छैन । सबै उधारो लिएका छन् ।’

गाउॅपालिका अध्यक्ष विष्णु रोकायाले लामो समयदेखि कृष्णलाले व्यवसाहिक भेडापालन गरिरहेको बताए । उनले गाउॅपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कान्तिपुर

Link copied successfully