हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रक्रिया अनुसार बयान लिई दुर्गा प्रसाईंलाई आज हाजिरी जमानीमा छाडिएको हो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Durga Prasai released on bail

काठमाडौँ — निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं मंगलबार हाजिरी जमानीमा छुटेका छन् । उनलाई सोमबार पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रक्रिया अनुसार बयान लिएर हाजिरी जमानीमा आज छाडिएको हो ।

प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरी बयान लिइएको हो । 

के थियो आरोप ?

प्रसाईंले केही दिनअघि सार्वजनिक गरेको एक भिडियोमा कांग्रेसभित्रको आन्तरिक विवाद र निर्वाचनको प्रसङ्ग जोड्दै आयोगका पदाधिकारीहरूले मोटो रकम लिएर नतिजा हेरफेर गरिदिएको दाबी गरेका थिए । आयोगले उक्त दाबी पूर्णतः निराधार, भ्रामक र संस्थाको छवि धमिल्याउने नियतले आएको भन्दै गृह मन्त्रालयमार्फत प्रहरीलाई उजुरी गरेको थियो ।

कान्तिपुर

Link copied successfully