आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् ।
काठमाडौँ — निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् ।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बनेका छन् ।
यसअघि उनीहरुले दलीय राजनीतिको मैदानमा छिर्नुअघि पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
ऊर्जामन्त्री घिसिङ हाल उज्यालो नेपाल पार्टीका अध्यक्ष छन् । उनी त्यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए । घिसिङ काठमाडौं-३ बाट उम्मेदवार बनेको उज्यालो पार्टीका प्रवक्ता डा राजु थापाले जानकारी दिए ।
युवा तथा खेलकुदमन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट आफूले उम्मेदवारी दिन लागेको गुप्ताले बताए ।
पूर्वसञ्चारमन्त्री खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए । मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मंगलबार पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरे । उनले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ताको क्रम जारी छ ।
