निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार संघीय राजधानीका यी क्षेत्रहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा कुल २५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार संघीय राजधानीका यी क्षेत्रहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबैभन्दा कम उम्मेदवारी पर्ने क्षेत्रहरूमा २, ६ र ८ रहेका छन्, जहाँ समान २२-२२ जनाको दाबेदारी रहेको छ ।
अन्य क्षेत्रहरूको अवस्था हेर्दा क्षेत्र नम्बर ७ र ४ मा उत्साहजनक सहभागिता देखिएको छ, जहाँ क्रमशः २८-२८ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै, क्षेत्र ५, ९ र १० मा २७/२७ जना तथा क्षेत्र नम्बर ३ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौंका यी क्षेत्रहरूमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्तासँगै राजधानीमा चुनावी सरगर्मी बढेको छ ।
