बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्न आफ्नो कार्यकालभन्दा अगाडि नै पद त्यागेका हुन् ।
मकवानपुर — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यकासाथ बागमती प्रदेशसभाका ६ जना सांसदले पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्न आफ्नो कार्यकालभन्दा अगाडि नै पद त्यागेका हुन् ।
प्रदेशसभाको कार्याकाल २०८४ मंसिरसम्म बाँकी रहेको छ। प्रदेशसभा सचिवालयका अनुसार राजीनामा दिनेमा कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसी रहेका छन् । केसीबाहेक सबै सांसद प्रदेशको मन्त्री भइसकेका छन् ।
पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका काफ्लेले सोमबार हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमै उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका थिए । उनले आफ्नो टिकट पार्टी अझै टुंग्याउन बाँकी रहेको बताए । ‘मेरो टिकट अझै टुंगिएको छैन । तर, टिकट पाउनेमा ढुक्क छु । दोलखाका जनताले मेरो माग गरेपछि बाध्य भएर राजीनामा दिएको हुँ,’ उनले भने ।
मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमा राजीनामा पठाएका थिए । उनीहरुलाई पार्टीले टिकट दिइसकेकाे छ। प्रदेशसभा सचिवालयका अनुसार उनीहरुको राजीनामा स्वीकृत गरी अन्य प्रक्रिया अगाडि बढाइसकिएको छ ।
