आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते हुने

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासंघमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध संगठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

The 11th National Convention of the Federation of Indigenous Peoples will be held on Magh 29 and 30.

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही माघ ९ र १० गते हुने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी कोशी प्रदेश राजधानी महाधिवेशन विराटनगरमा गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामांकन गर’ भन्ने मूल नारासहित महाधिवेशन हुन लागेको महासंघका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिए । 

महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको उनले बताए । 

नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको थियो । नेपालमा कुल जनसंख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ । 

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासंघमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध संगठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यसैगरी विभिन्न २५ वटा देशमा महासंघका प्रवास संगठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको महासंघका अध्यक्ष शेर्पाले उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully