सरकारले अस्पताललाई तिर्नुपर्ने रकम रोकिँदा स्वास्थ्य बिमा सेवामा समस्या देखिएको बेला कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा आएको हो।
काठमाडौँ — स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्। उनले आइतबार स्वास्थ्य मन्त्रालयमा आफ्ना राजीनामा बुझाएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले काफ्लेको राजीनामा प्राप्त भएको र स्वीकृत गर्ने/नगर्नेबारे छलफल चलिरहेको बताए।
काफ्ले पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलका पालामा बिमा बोर्डमा कार्यकारी निर्देशक नियुक्त भएका थिए। स्वास्थ्य बिमाको दायित्वबापत सरकारले तिर्नुपर्ने रकम भुक्तानी नभएर समस्या भइरहेको बेला काफ्लेको राजीनामा आएको हो।
सरकारबाट रकम नपाएको भन्दै केही अस्पतालहरूले उक्त सेवा नै बन्द गर्ने घोषणा गरिरहेका छन्। स्रोतका अनुसार सरकारले विभिन्न सेवा प्रदायक संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ।
