एकताबद्ध भएर अघि बढ्न कांग्रेस नवनिर्वाचित सभापति थापाको अपिल

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गरे ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Newly elected Congress President Thapa appeals to move forward unitedly

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन् ।

कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । 'नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ,'  उनले भने । 

उनले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गरे । सभापति थापाले भने, 'पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।' उनले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताए । 

'कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ,' सभापति थापाले भने ।

उनले अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिए ।

सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताए । जिम्मेवारी फरक भए पनि भुँइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनको भनाइ छ । उनले कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताए । 

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गरे । 

कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उनले बताए । 'एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन', उनले भने, 'सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।'

सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताए । उनले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताए । उनले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गरेका छन् । उनले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपिल गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully