विकासका आधारभूत पूर्वाधार समेत अभाव रहेको रुकुम पूर्वमा दाहालको आगमन विकास माग्ने अवसर भएको तर्क गरिरहेका छन् भने केहीले आफ्नो जित सुनिश्चितको अवसर खोज्न यहाँ आएको टिप्पणी गरिरहेका छन् ।
What you should know
रुकुम पूर्व — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने विषयले यतिबेला जिल्लाको निर्वाचन माहोल थप तातेको छ ।
गत पुस २६ गते रुकुम पश्चिममा नेकपाद्वारा आयोजित एक कार्यक्रममा दाहालले ‘आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने पक्का भएको’ बताएपछि उनको जित र हारसँगै विभिन्न कोणबाट चर्चा हुन थालेको हो ।
संघीयतापछि साविक रुकुमबाट छुट्टिएर बनेको ‘कान्छो जिल्ला’ रुकुम पूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पनि हो । विकासका आधारभूत पूर्वाधारसमेत अभाव रहेको रुकुम पूर्वमा दाहालको आगमनले विकासको भित्रिने अवसरका रुपमा लिएका छन् भने केहीले आफ्नो जित सुनिश्चितको अवसर खोज्न यहाँ आएको टिप्पणी गरिरहेका छन् ।
गत पुस १० गते नेकपाले प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट गणेशमान पुन, दलजित श्रीपाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज सिर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाईली र सर्जना कार्कीको नाम सिफरिस गरेको थियो । यो सूचीमा संयोजक दाहालको नाम थिएन । पछि एकाएक दाहाल नै चुनाव लड्न आउने कुराले चर्चा पायो । यसै क्रममा रुकुम पश्चिमको कार्यक्रममा दाहालले सार्वजनिक रुपमै यो विषयलाई पुष्टि गरेपछि चर्चाले आकार लिएको हो ।
यस विषयमा सिफारिस भएका उम्मेदवार सुबोधराज सिर्पालीले अरु ७ जनाले छाडे पनि आफू र जीतमान पुनको दाबी यथावत रहेको बताएका छन् । सिर्पालीले जिल्ला कमिटीबाट सिफारिस भएका नामहरुबाटै उम्मेदवार तय हुनुपर्ने आफूहरुको दाबी रहेको भन्दै यस विषयमा थप छलफल गर्ने बताए ।
‘गत पुस २४ गते पार्टी संयोजकसँग सिफारिस भएका उम्मेदवार र जिल्लाका नेताहरुको संयुक्त छलफल भएको थियो । त्यसमा उहाँ (दाहाल) स्वयंले रुकुम पूर्वबाट चुनाव लड्ने इच्छा देखाउनुभएको सत्य हो । तर मेरो जानकारी भएसम्म त्यसपछि थप छलफल भएको छैन,’ उनले भने ‘त्यसको दुई दिनपछि रुकुम पश्चिमको सभामा उहााले यो विषय पक्कापक्की भएको घोषणा गरेपछि भने हामीलाई केही गाह्रो परेको छ । तर हामी चाँडै आफ्नो कुरा प्रस्ट राख्छौं ।’
यस विषयमा थप्दै सिर्पालीले संयोजक दाहाल चुनाव लड्नका लागि देशको जुनसुकै निर्वाचन क्षेत्र जानसक्ने तर आफुहरु भने आफ्नो निर्वाचन क्षेत्रभन्दा पर जान नसक्ने अवस्था भएकाले आफूहरुले अवसर पाउनुपर्ने दाबी गरेका छन् ।
२०६४ पछिका सबै निर्वाचनमा साविक रुकुमबाट र संघीयतापछि नयाँ जिल्ला भए पश्चात रुकुम पूर्वबाट लगातार तत्कालीन माओवादी केन्द्रले नै आमनिर्वाचनमा जित हात पार्दै आइरहेको छ । आसन्न निर्वाचनमा पनि आफ्नो पार्टीले जित्ने विश्वासका साथ नेता–कार्यकर्तामा उम्मेदवार हुन हानथाप भइरहेको हो ।
संयोजक दाहाल रुकुम पूर्व आउने कुरा करिब पक्का भएको नेकपा जिल्ला ईन्चार्ज एवम् सिफारिस भएका उम्मेदवार तेजबहादुर ओलीले बताए । ‘हामीले जिल्ला कमिटिबाटै उहाँ (दाहाल)को नाममा पनि निर्णय गरिएको थियो । सार्वजनिक गर्दा चाही मसहित ९ जनाको मात्रै भएको हो,’ उनले भने, ‘अब संयोजक कमरेड नै जिल्लामा चुनाव लड्न आउनुहुन्छ भने हामी एकमनामा साथ यसमा लाग्छौं ।’
यस विषयमा नेकपाका अर्का नेता तथा पुथाउत्तरगंगा गाउापालिका–५ का अध्यक्ष टीकासाई घर्तीले पनि पार्टी संयोजकलाई आफ्नो उम्मेदवारका रुपमा पाउन कुरा सुखद् भएको बताए । ‘हिजोका दिनमा पार्टी हेडक्वाटरमा केही सीमित मान्छेको मात्रै सम्पर्क र सम्बन्ध रह्यो । जसका कारण हामी पिंधमा रहेका नेता–कार्यकर्ताले आफ्नो सुख–दुःख सुनाउन पाएनौं। अब यो समय आएको छ । रुकुम पूर्वको वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकार हुने अवसर उहाालाई हुनेछ । यसले जिल्ला पार्टी र सबैलाई फाइदा हुनेछ । यसकारण पनि यो सुखद् समाचार हो,’ उनले भने।
नेकपामा दाहाल चुनाव लड्न जिल्ला आउने चर्चा चलिरहँदा कांग्रेसले कुसुमदेवी थापा, एमालेले खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम र रास्वपाले लखन स्वाँरको नाम उम्मेदवारमा सिफरिस गरेको छ।
तत्कालीन माओवादी केन्द्रबाटै फुटेर बनेको जनार्दन शर्मा सम्बद्ध पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पूर्वमाओवादी कार्यकर्ता एवम् सशस्त्र द्वन्द्वमा बाआमा नै गुमाएका सन्दिप पुनको नाम सिफारिस गरेको छ । उनले आफ्नै पूर्वअध्यक्ष दाहालसँग चुनाव लड्न तयार रहेको सार्वजनिक घोषणा गरिसकेका छन् । अघिल्लो आमनिर्वाचनमा तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले ७ हजार ५१ मतान्तरमा एमालेका कैलाशकुमार मल्ललाई पराजित गरेका थिए।
विगतका निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्दै आएको साविकको माओवादी र हालको नेकपाले जितलाई निरन्तरता दिने दाबी गरिरहेका बेला संयोजक दाहाल नै उम्मेदवार हुन आउने कुराले नेता–कार्यकर्तामा थप उत्साह त थपेको छ । तर अन्य दल तथा नेताहरुले भने यसपल्ट उम्मेदवार जो भए पनि नेकपाको जित सहज नभएको भन्दै जनमत आ–आफ्नो पक्षमा पार्न लागि पर्ने बताइरहेका छन् ।
