४ प्रदेश घुमेर सुरक्षित शिविर खोज्दै रुकुम फर्किए दाहाल

चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका दाहाल मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौं, लुम्बिनीको रोल्पाबाट उम्मेदवार भइसकेका छन् ।

पुस २५, २०८२

गंगा बीसी

Dahal returns to Rukum after visiting 4 provinces in search of a safe camp

What you should know

काठमाडौँ — सशस्त्र युद्ध छाडेर २०६३ देखि शान्ति प्रक्रियामा आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई गतिशील नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

२०४८ मा संसद्को उपयोग, २०५२ मा बन्दुकको बलमा सत्ता कब्जा गर्न सशस्त्र युद्ध सुरु र २०६३ मा शान्ति प्रक्रियामा आएका दाहाल राजनीतिक कार्यदिशा र नीति परिवर्तनमा मात्र होइन, निर्वाचन क्षेत्र फेर्न पनि उत्तिकै गतिशील देखिन्छन् । जबकि उनका समकालीन कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ र नेकपा सहसंयोजक माधवकुमार नेपाल रौतहट–२ निर्वाचन क्षेत्रबाट निरन्तर उठ्दै आएका छन् ।

संसदीय प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि विभिन्न जिल्ला र क्षेत्र परिवर्तन गर्दै जित्दै आएका दाहालको यस पटक रुकुम पूर्व रोजाइमा परेको छ । नेकपाले जित्ने अरू क्षेत्रभन्दा तुलनात्मक रूपमा सुरक्षित रहेको रुकुम पूर्वमा २१ फागुनको संसदीय निर्वाचनका लागि उम्मेदवार हुने करिब पक्का भएको छ । २०६४ देखि माओवादी केन्द्रले रुकुम पूर्वबाट निरन्तर जित्दै आएको छ । 

सोमबार रुकुम पूर्वका नेताहरू पूर्ण घर्ती, तेजबहादुर ओलीलगायत नेताहरूले दाहाललाई भेटेर रुकुम पूर्वबाट उम्मेदवार हुन आग्रह गरेका थिए । रुकुम पूर्व जिल्ला समितिले दाहाललाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेकाले उम्मेदवार हुन पुनः आग्रह गरेका थिए । त्यसबेला दाहालले रुकुम पूर्वबाट उम्मेदवार हुन ‘सकारात्मक’ भएको बताएका थिए । बिहीबार पनि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा दाहालले रुकुम पूर्वबाट उम्मेदवार हुनेबारे शुक्रबारसम्म टुंगो लगाउने बताए । ‘भोलि (शुक्रबार) सम्म टुंगो लाग्छ’ उनको भनाइ थियो ।

नेकपा नेतृ एवं रुकुम पूर्वकी पूर्वसांसद कमला रोकाले संयोजक दाहाल उक्त क्षेत्रबाट उम्मेदवार हुने करिब निश्चित भएको बताइन् । ‘संयोजक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बन्नु गौरवको विषय हो । उहाँ उम्मेदवार बन्ने ९९ प्रतिशत निश्चित भइसकेको छ,’ उनले भनिन्, ‘जनयुद्धको इतिहास बोकेको जिल्ला भएको हुनाले प्रचण्ड उम्मेदवार हुँदा झन् महत्त्व बढ्नेछ ।’

दाहालनिकट नेकपाका एक वरिष्ठ नेताले दाहालले रुकुम पूर्व रोज्नुको मुख्य कारण सहज तरिकाले चुनाव जित्नुभएको बताए । ‘रुकुम पूर्व संयोजक प्रचण्डका लागि सबैभन्दा सुरक्षित जिल्ला हो । त्यसैले उहाँलाई त्यहाँ उम्मेदवार हुन सुझाव दिएका छौं,’ उनले भने, ‘प्रचण्ड रुकुम पूर्वमा उम्मेदवार हुँदा देशभर चुनाव प्रचारमा जान पनि सहज हुन्छ ।’

चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका दाहालले निर्वाचन जित्ने आधार खोज्दै मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौं, लुम्बिनीको रोल्पाबाट उम्मेदवार भइसकेका छन् । यस पटकको उनको रोजाइ रुकुम पूर्व परेको छ । ०७९ को प्रतिनिधिसभा चुनावमा उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि तत्कालीन माओवादी अध्यक्ष दाहालले चितवन–३ बाटै चुनावमा उठ्ने बताएका थिए ।

त्यही कुराको विश्वास दिलाउन उनले भरतपुर महानगर–१४, शिवनगरमा घर नै बनाएर सरे । पञ्चेबाजाको लस्कर नै लगाएर घर सरेपछि दाहालले चितवनसँगको आफ्नो साइनो झनै कसिलो भएको बताएका थिए । तर त्यसो भने पनि अन्ततः उनले चितवन–३ सुरक्षित देखेनन् र गोरखा–२ पुगे । त्यतिबेला चितवनबाट गोरखा सरेपछि उनले जिल्ला फेरेर उम्मेदवार भई आफूले इतिहास रचेको बताएका थिए । नयाँ–नयाँ स्थानबाट चुनाव लड्ने आफनो विगत भएको उल्लेख गर्दै भनेका थिए, ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ ।’ 

अब उनका लागि गोरखा–२ पनि सुरक्षित रहेन । उनले आफ्नो निर्वाचन क्षेत्र परिवर्तनको इतिहासलाई निरन्तरता दिँदै यतिबेला रुकुम पूर्व पुग्ने निश्चितप्रायः भएको हो । जेठ २०८२ मा माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियानमा उनले रुकुमसँग आफ्नो राजनीतिक र भावनात्मक सम्बन्ध रहेको बताएका थिए । प्रधानमन्त्री भएकै बेला उनी मंसिर २०८० मा रुकुम पूर्वको मैकोट पुग्दा ‘रुकुम पूर्वको विकासका लागि प्रयास गर्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए । ‘हुकाम मैकोट आउने सपना पूरा भएको छ’ उनले पहिलो पटक त्यहाँ पुगेका बेला भनेका थिए । रुकुम पश्चिममा पटक पटक गए पनि रुकुम पूर्वमा दाहाल मुस्लिलले दुई पटक पुगेका छन् । 

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले १२ हजार २ सय ६२ मत पाएर जितेका थिए । प्रतिस्पर्धी एमालेका उम्मेदवार कैलाशकुमार मल्ल ७ हजार ४१ मतान्तरले पराजित भएका थिए । उनले ५ हजार २ सय २१ मत मात्र पाएका थिए । २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचिन भएका दाहालको यस पटकको रोजाइँ रुकुम पूर्व परेको छ । पूर्वमाओवादी उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले जित्दै आएको गोरखा–२ छाडेर दाहाललाई उठाएका थिए । तर चुनाव जितेपछि दाहाल र भट्टराईको सम्बन्ध बिग्रिएको थियो । चुनावअघि दाहालले मुलुकको समग्र आर्थिक विकासका लागि शक्तिशाली अधिकार सम्पन्न प्राधिकरण बनाई त्यसको प्रमुखमा भट्टराईलाई राख्ने प्रतिबद्धता जनाएका थिए । तर चुनाव जितेपछि दाहालले त्यसलाई बेवास्ता गरेपछि दुईबीचको सम्बन्ध बिग्रिएको थियो । २१ फागुनको निर्वाचनमा गोरखा–२ बाट जित्ने सम्भावना कम भएपछि दाहाल रुकुम पूर्वतिर लाग्ने तयारी गरेका छन् । 

माओवादी सशस्त्र युद्धको आधार इलाका मानिएको रुकुम पूर्व तत्कालीन नेकपा (माओवादी) को बलियो क्षेत्र हो । २०७२ मा संविधान जारी हुँदा रुकुमलाई पूर्व र पश्चिममा विभाजन गरिएको थियो । दुवै रुकुम माओवादीको बलियो पकड क्षेत्र हो । २०६४ पछि दुवै रुकुममा माओवादीले लगातार जित्दै आएको छ । रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आएका तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टी छाडेपछि त्यो जिल्ला दाहालको रोजाइमा परेन । 

दाहालले २०६४ को पहिलो संविधानसभामा काठमाडौं–१० र रोल्पा–२ बाट उम्मेदवार हुँदा ऐतिहासिक र राजनीतिक सम्बन्ध गहिरो भएकाले आएको बताएका थिए । ‘जनयुद्ध’ को आधार इलाकाको सम्मान गर्दै आफूले रोल्पा रोजेको उनले त्यतिबेला बताएका थिए । ‘रोल्पाली जनता महान् हुनुहुन्छ । म जनयुद्धकालमा दुई वर्ष यहीं सुरक्षित बसेको छु’ उनको भनाइ थियो । त्यस्तै २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं–१० र सिरहा–५ मा उम्मेदवारी दिएका थिए । उनी काठमाडौंमा पराजित भए पनि सिरहा–५ बाट निर्वाचित भएका थिए । त्यसबेला निर्वाचन प्रचारका क्रममा उनले भनेका थिए, ‘मधेशसँग मेरो लभ परेको छ । त्यसैले उम्मेदवार भएको छु ।’ 

दाहाल आफ्नो गृहजिल्ला चितवन–३ बाट भने भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेनु दाहाललाई राजीनामा गर्न लगाएर उम्मेदवार बनाउने तयारीमा छन् । यो क्षेत्रबाट रेनु एकल सिफारिस भएकी छन् । चितवन–३ मा नेकपा संयोजक दाहालभन्दा छोरी रेनुको जित्ने सम्भावना बलियो भएको मानिन्छ । दाहालले आफ्नो राजनीतिक विरासतमा रेनुलाई अघि बढाउन खोजेका छन् । 

यसअघि दाहालको क्षेत्र गोरखा–२ बाट नेकपा युवा नेता लेखनाथ न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । दाहालका यसअघिका दुवै निर्वाचन क्षेत्र चितवन–३ मा रेनु र गोरखा–२ मा लेखनाथ सर्वसम्मत सिफारिस भइसकेकाले दाहालले ती क्षेत्र छाडेको स्पष्ट भएको छ । सर्वसम्मत सिफारिस भएका न्यौपानेले गोरखा–२ र रेनुले चितवन–३ मा निर्वाचन अभियान नै सुरु गरिसकेका छन् । उम्मेदवारी दिनुभन्दा अघि भरतपुर महानगरको प्रमुखबाट राजीनामा दिएर रेनुले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् । ‘निर्वाचन हुने निश्चित भएपछि मैले मेयरबाट राजीनामा दिएर चितवन–३ मा उम्मेदवारी दिने तयारी गरेकी छु’ उनले भनिन् ।

९ जिल्लाबाट सिफारिस

संयोजक दाहाललाई हालसम्म नौ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गण्डकीको गोरखा–२, कर्णालीको कालीकोट, बागमतीको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेशको महोत्तरी–४, लुम्बिनीको रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । कालीकोटबाट पनि दाहाललाई सिफारिस गरिएकाले त्यहाँ जित्ने सम्भावनाबारे छलफल भएको थियो । कालीकोटभन्दा रुकुम पूर्व नै सुरक्षित रहेको दाहालको सचिवालयले निष्कर्ष निकालेको छ ।

एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछि २०७४ को निर्वाचनमा दाहाल चितवन–३ बाट विजयी भएका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए भने काठमाडौं–१० मा पराजित भएका थिए । 

दाहाल ३७ वर्षदेखि पार्टीको प्रमुख नेतृत्वमा छन् । उनी २०६५, २०७३, २०७९ गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । १० पुस २०७९ देखि ३१ असार २०८१, १९ असार २०७३ देखि २३ जेठ २०७४ सम्म र साउन २०६५ देखि जेठ २०६६ सम्म प्रधानमन्त्री भएका थिए । २६ मंसिर २०११ मा कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा जन्मिएका दाहालको परिवार २०२५ सालमा चितवनको शिवनगरमा बसाइँ सरेको थियो ।

गंगा

Link copied successfully