यसअघि महान्यायाधिवक्ता भण्डारीले रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
काठमाडौँ — महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा मात्र फिर्ता लिँदा विवाद भएपछि उल्टै सबै प्रतिवादीको हकमा निर्णय गरेकी छन् ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिवक्ता भण्डारीले भने शुक्रबार अर्को निर्णय लिएकी हुन् ।
‘अब सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगपत्रहरु संशोधन गर्न स्वीकृति दिने निर्णय भएको छ,' उनले भनिन् ।
भण्डारीले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन (अभियोगपत्र संशोधनको स्वीकृति) जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यन्वयन गर्न सरकारी वकिल कार्यालयलाई भनिने उनले बताइन् ।
‘यसअघि लामिछानेको हकमा मात्रै भन्ने थियो तर अब सबैको हकमा अभियोग संशोधन हुन्छ,’ महान्यायाधिवक्ता भण्डारीले भनिन्, ‘हामीले विभेद गर्न मिल्दैन । सबैलाई एउटै निर्णय हुन्छ, यसअघि त्रुटि भएको रहेछ त्यसलाई सच्याउने हो ।’
उनले कसैलाई पनि अन्याय गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरेको तर्क गरेकी छन् ।
