लाखौं व्यक्तिको टेलिफोन नम्बर कसरी पाए निर्देशले

निर्देशका परिवारले टेलिकमबाटै सबै नम्बर पाएको दाबी गरे पनि यस विषयमा प्रतिकृया माग्दा नेपाल टेलिकमले उक्त दाबी अस्विकार गरेको छ ।

माघ १, २०८२

सजना बराल

How did the instructions get the telephone numbers of millions of people?

What you should know

काठमाडौँ — अनधिकृत रूपमा लाखौं व्यक्तिलाई एसएमएस पठाएको गुनासोपछि प्रहरीले निर्देश सेढाईंलाई पक्राउ गरेको छ । उनको परिवारले नेपाल टेलिकमबाटै निर्देशले मोबाइल नम्बरहरू प्राप्त गरेको दाबी गरेको छ । सेढाईंकी आमा शर्मीलाले केही समयअघि निर्देशले नै आफूलाई सो जानकारी दिएको तर थप थाहा नभएको कान्तिपुरलाई बताइन् ।

यस विषयमा प्रतिकृया माग्दा नेपाल टेलिकम स्रोतले भने सो दाबीलाई अस्वीकार गर्दै यो र्‍यान्डम रूपमा जम्मा गरेर जथाभावी पठाइएको एसएमएस भएको जनाएको छ । टेलिकम तथा प्रविधि क्षेत्रका जानकारहरू भने यति ठूलो संख्यामा गरिएको म्यासेजिङ जथाभावी नभई नियन्त्रित र स्थानविशेषलाई लक्षित गरिएकोजस्तो देखिने बताउँछन् । 

उनीहरूले यो तहको अतिव्यक्तिगत नम्बर लगायत विवरण कि त नियमनकारी सरकारी निकाय वा ठूला बैंक वा सम्बन्धित टेलिकम कम्पनी मात्र हुने र र्‍यान्डम गर्दा यति धेरै संख्यामा डेलिभर गराउन सम्भव नभएको प्रतिकृया दिन्छन् । यस घटनाले सर्वसाधारणमा आफ्नो मोबाइल नम्बरको गोपनीयता र सुरक्षालाई लिएर ठूलो चासो र त्रास उब्जिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले भने टेलिकमको मोबाइल नम्बरका रेन्ज (जस्तै ९८४१ वा ९८५१) राखेर एक्सेल सिटमा नम्बरको सेट तयार गरी त्यसलाई एमएमएस गेटवेमा अपलोड गरी जो सुकैले सन्देश पठाउन सक्ने बताउँछन् । ‘एक्सेलमा वा कुनै सफ्टवेयरमा त्यो रेन्ज राखेर ९८४१०० देखि ९८४९९९ सम्म राख्यो भने जुन–जुन भ्यालिड नम्बर छन्, सबैमा म्यासेज जान्छ, तपाईंले पनि यसरी पठाउन सक्नुहुन्छ,’ उनले भने, ‘एक्सेल सिटमा रेन्ज राखेर ती व्यक्तिले एसएमएस पठाएका हुन् । हामी कसैलाई नम्बर दिँदैनौं ।’

टेलिकमले विज्ञप्ति जारी गर्दै ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा कुनै पनि विवरण उपलब्ध नगराएको दाबी गरेको छ । सेवा प्रदायकहरूले व्यावसायिक प्रयोजनका लागि लिएको भ्यालु एडेड सर्भिस (भास) प्रणालीको दुरुपयोग गर्दै राजनीतिक प्रकृतिका सन्देश पठाएको टेलिकमको ठहर छ ।

राजावादी प्रदर्शनमा सहभागी हुन आहृवान गर्दै लाखौं सर्वसाधारणलाई एसएमएस पठाएका सेढाईंलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई मङ्गलबार साँझ हात्तीसारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार सेढाईंलाई हाल म्याद थप गरी हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा उनले झन्डै ५० देखि ६० लाख एसएमएस पठाएको देखिएको छ । उनले सो संख्यामा सेढाईंले एसएमएस पठाएको हो भने १२ लाख रुपैयाँभन्दा बढी रकम एसएमएस पठाउनकै लागि खर्च गर्नुपर्ने नेपाल टेलिकमको मूल्य दरबाटै अनुमान गर्न सकिन्छ । मूल्य दरअनुसार ३० लाखवटा भन्दा माथि एसएमएस पठाउँदा प्रतिएसएमएस करबाहेक २० पैसा शुल्क लाग्छ ।

सेढाईंकी आमा शर्मीलाका अनुसार पक्राउ पर्नुभन्दा एक दिनअघि निर्देशले आफूलाई ‘यस्तो हुन सक्छ’ भनेर सम्भावित प्रहरी कारबाहीको संकेत गरेका थिए । ‘निर्देशले १५/२० दिनअघि नेपाल टेलिकमबाट नम्बरहरू प्राप्त गरेको र ती सबै नम्बरमा सन्देश पठाएर आन्दोलनमा बोलाउने भनेको थियो,’ पेट्रोलियम डिलर्स एशोसिएशन चितवनकी अध्यक्षसमेत रहेकी शर्मीलाले भनिन्, ‘मैले नचाहिँदो कुरा नगर भनेर सम्झाएकी थिएँ । तर खासै गम्भीरतापूर्वक लिएकी थिइनँ ।’ उनले आफ्नो छोरालाई ‘राजनीतिक इच्छाशक्ति भएको र वर्तमान राजनीतिक अस्थिरताबीच केही गर्ने चाहना भएको युवा’ भएको बताइन् ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सेढाईंले आफूले ती सन्देशहरू पठाएको स्वीकार गरेका छन् । उनले प्रहरीलाई आफू एक ‘सचेत उद्यमी’ भएको बताउँदै वर्तमान सरकारले ‘जनअपेक्षाअनुसार काम गर्न नसकेकाले त्यसको विरोधमा र सरकारविरुद्ध जनस्तरबाट भेला हुनका लागि ती सन्देशहरू पठाएको’ बताएका छन् ।

प्रवक्ता आचार्यका अनुसार सेढाईंले समाजलाई भड्काउने किसिमले प्रदर्शनमा आउन आहृवान गरेको देखिएकाले उनीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो । सेढाईंले ‘वेदव्यास इन्टरप्राइजेज प्रालि’ नामक कम्पनीको नाममा नेपाल टेलिकमको भास सेवा प्रदायक आकाश टेक प्रालीसँग सम्झौता गरी एसएमएस पठाउने प्रणाली (एसएमएस गेटवे) को पहुँच प्राप्त गरेका थिए ।

उनी चितवनका स्थायी बासिन्दा हुन् र व्यावसायिक पृष्ठभूमि भएको परिवारका सदस्य हुन् । विगतमा उनले चितवनमा गाडीको सोरुम सञ्चालन गर्ने तथा टाटा कम्पनीका गाडीहरूको बिक्री वितरण गर्ने गरेका थिए ।

सामाजिक सञ्जालमा उनको सक्रियता र उनलाई चिन्नेहरूसँग बुझ्दा उनी राजनीतिक तथा सामाजिक मुद्दामा केही समयअघि देखि नै संलग्न हुने प्रयासमा थिए । उनले ‘वेदव्यास इन्टरप्राइजेज’मार्फत सुरुमा व्यावसायिक प्रयोजनका लागि एसएमएस पठाउने सम्झौता गरे पनि पछि त्यसको दुरुपयोग गरी राजनीतिक प्रकृतिका सन्देशहरू पठाएको आकाश टेकका सेल्स एन्ड मार्केटिङ म्यानेजर राजन कोइरालाले बताएका छन् । अहिले प्रवाह भएको म्यासेजमा देखिएको ‘एटी अलर्ट’ आकाश टेककै सेन्डर आईडी हो ।

म्यासेजहरू नेपाल टेलिकमको नेटवर्क प्रयोग गरेर पठाइएका थिए । कोइरालाका अनुसार करिब ५० देखि ६० लाख एसएमएस गइसकेपछि मात्र उनीहरूले थाहा पाएर उक्त एकाउन्ट ब्लक गरेका थिए । आफूसँग १२ देखि १५ हजार ग्राहक भएको र सबैको कन्टेन्ट रियल–टाइममा हेर्ने वा फिल्टर गर्ने संयन्त्र नभएकाले यस्तो राजनीतिक सन्देश गएको थाहा नपाएको कोइरालाले दाबी गरे ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, विज्ञापन ऐन र दूरसञ्चार ऐनको उल्लंघन भएको छ - अधिवक्ता बाबुराम अर्याल‘हामी नेपाल टेलिकम तथा एनसेलका भ्यालु एडेड सर्भिस प्रोभाइडर हौं,’ कोइरालाले भने, ‘हामीले ग्राहकहरूलाई एउटा गेटवे म्यासेज सिस्टम उपलब्ध गराउँछौं, त्यसमा उहाँहरूले आफूले चाहेअनुसारको नम्बर र कन्टेन्ट राखेर म्यासेज पठाउनुहुन्छ । हाम्रा क्लाइन्टहरूले आफ्नै एक्सेल सिटबाट नम्बरहरू अपलोड गरेर कन्टेन्ट पठाउने गर्छन् ।’

अधिवक्ता बाबुराम अर्यालले यस एसएमएस प्रकरणमा मुख्यतया डेटाको दुरुपयोग वा नम्बरहरू कहाँबाट संकलन वा ‘लिक’ भएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुने बताए । उनले यो वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, विज्ञापन ऐन र दूरसञ्चार ऐनको उल्लंघन भएको स्पष्ट पारे । 

‘अपरेटरहरूले भ्यालु एडेड सर्भिसअन्तर्गत एसएमएसमा आधारित सेवाहरू सञ्चालन गर्न निश्चित सर्त र प्रक्रियाहरू तोके पनि सेवा प्रदायकले त्यसलाई बेवास्ता गर्दै आएका छन्,’ अर्यालले भने, ‘आफ्नो विवरण लिक हुँदा उजुरी गर्ने चलन पनि हामीकहाँ छैन। आममानिसमा डिजिटल सचेतना र संस्थाहरूमा जवाफदेहिता अत्यन्तै कमजोर स्थितिमा रहेको यस घटनाले देखाउँछ ।’

मेसेजको विषयवस्तु (कन्टेन्ट) बारे प्रश्न गर्दा टेलिकमले कन्टेन्ट हेर्न नमिल्ने प्रतिकृया दिएको छ । ‘सफ्टवेयरमा फिल्टर गर्‍यो भने कुनै पनि मेसेज जाँदैन, त्यो सम्भवै हुँदैन, पठाइसकेपछि मात्र कस्तो मेसेज गयो भन्ने थाहा हुन्छ र त्यसपछि हामीले सम्बन्धित दोस्रो पक्षलाई भनेर बन्द गराउँछौं,’ प्रवक्ता मानन्धरले भने । यस घटनापछि टेलिकमले सबै ‘भास’ सेवा प्रदायकहरूलाई पत्राचार गरी धेरै सफ्टवेयरमा म्यासेज पठाउनुअघि ध्यान दिन र शंकास्पद लागे बन्द गर्न निर्देशन दिएको छ । 

भविष्यमा यस्ता गल्तीहरू नदोहोरिउन् भनेर टेलिकमको सम्बन्धित विभागले काम गरिरहेको र पक्राउ परेका व्यक्तिका बारेमा टेलिकमलाई थप जानकारी नभएको जनाएको छ । प्रहरीले एसएमएसमा आएको नाम र नम्बरकै आधारमा उनलाई पक्राउ गरेको हुनसक्ने प्रवक्ता मानन्धरको भनाइ छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully