सूचना प्रविधिमार्फत हुने दुष्प्रचार न्यूनीकरणमा आयोगको जोड

दुईदिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षासम्बन्धी तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरू सहभागी छन् ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Commission emphasizes on reducing propaganda through information technology

काठमाडौँ — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौंमा आयोजित दुईदिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचना प्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्र्याकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्मका काम भइरहेको बताए ।

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर काम भइरहेको बताए । उनले निर्वाचनका क्रममा तथ्यांकको शुद्धता, साइबर जोखिम न्यूनीकरण, सुरक्षित डिजिटल व्यवहार तथा सूचना प्रविधिसँग जोडिएर आउन सक्ने चुनौतीलाई तत्काल समाधान गर्न प्रविधिसँग जोडिएर कार्यसम्पादन गरिरहेका आयोगका जनशक्तिको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully