गत वर्षभन्दा ३ हजार ३ सय ३९ चरा धेरै भेटिएको जलपंक्षी गणना पश्चिम सेक्टर संयोजक एवं संरक्षणकर्मी डीबी चौधरीले बताए ।
नवलपरासी — नारायणी नदी र आसपासको सीमसार क्षेत्रमा भेटिने चराको संख्या बढेको पाइएको छ । दुई दिनअघि सम्पन्न एसियन जलपंक्षी गणना तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरको नारायणी नदी र आसपासको सीमसार क्षेत्रमा गत वर्षभन्दा धेरै चरा फेला परेका हुन् ।
जलपंक्षी गणना पश्चिम सेक्टर संयोजक एवं संरक्षणकर्मी डीबी चौधरीका अनुसार नारायणी नदीमा यसपटक ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा भेटिएका छन् । दुई दिनअघि नारायणी नदी र आसपासको क्षेत्रमा विभिन्न समूहमा बाँडिएका ५० जनाको विज्ञ समुहले चरा गणना कार्य गरेको थियो ।
नारायणी नदीको दक्षिण मुख्य भंगालो, सिख्रौली, कुजौली, पिठौली, अमलटारी र बघुवनसम्मका ५ स्थानलाई आधार बनाई गरिएको जलपंक्षी गणनामा गत सालभन्दा ३ हजार ३ सय ३९ चरा धेरै भेटिएको चौधरीले बताए ।
नारायणीको पश्चिम क्षेत्र अमलटारीदेखि बघुवनसम्ममा २६ प्रजातिका ७ सय ९४ चरा, पिठौली अमलटारीबीचमा २९ प्रजातिका ४ हजार ३ सय ८५ र कुजौली पिठौली खण्डमा ३० प्रजातिका ३ हजार ५ सय जलपंक्षी अद्यावधिक गरिए ।
संरक्षणकर्मी चौधरीका अनुसार २०८० र २०८१ सालको जलपंक्षी गणनामा निकुञ्जको पश्चिम क्षेत्र नारायणी नदी र त्यस आसपासमा ४१ प्रजातिका चरा फेला परेका थिए । हरेक वर्ष पुस महिनाको दोस्रो र तेस्रो साता जलपंक्षी गणना हुँदै आएको छ ।
