त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०२५ मा ९७ लाखभन्दा बढी यात्रु, १ लाख ३८ हजार उडान

नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२५ मा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमार्फत ५२ लाख ५१ हजार ८९७ यात्रु तथा आन्तरिक उडानमार्फत ४५ लाख २५ हजार ३५९ यात्रुले यात्रा गरेका छन् ।

पुस ३०, २०८२

सुरज कुँवर

Tribhuvan International Airport to handle over 9.7 million passengers, 138,000 flights in 2025

What you should know

काठमाडौँ — नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२५ मा अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको हवाई आवागमन उल्लेखनीय रूपमा बढेको छ ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा रहेको यो विमानस्थलमा मात्रै वर्षभरि ९७ लाख ७७ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

प्राधिकरणका अनुसार सन् २०२५ मा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमार्फत ५२ लाख ५१ हजार ८९७ यात्रु तथा आन्तरिक उडानमार्फत ४५ लाख २५ हजार ३५९ यात्रुले यात्रा गरेका छन् । दुवैलाई जोड्दा कुल यात्रु संख्या ९७ लाख ७७ हजार २५६ पुगेको छ ।

सन् २०२५ मा काठमाडौं विमानस्थलबाट कुल १ लाख ३८ हजार १४५ उडान सञ्चालन भएका छन् । यसमध्ये ३४ हजार ५९४ अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ लाख ३ हजार ५५१ आन्तरिक उडान सञ्चालन भएका छन् । आगमन र प्रस्थान उडान संख्या लगभग बराबर रहेको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०२५ मा यात्रु चाप उल्लेखनीय देखिएको छ । तथ्यांक अनुसार नोभेम्बर महिना सबैभन्दा व्यस्त रह्यो, जहाँ पाँच लाखभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय उडानमार्फत आवागमन गरेका छन् ।

यस अवधिमा अन्तर्राष्ट्रिय उडानमार्फत करिब २ लाख ७९ हजार ५७२ टन कार्गो ढुवानी भएको छ भने ४६३ टनभन्दा बढी हुलाक (मेल) ओसारपसार भएको छ ।

आन्तरिक हवाई सेवामा पनि उल्लेखनीय वृद्धि देखिएको छ । सन् २०२५ मा विमानस्थलबाट सञ्चालन भएका १ लाख ३ हजारभन्दा बढी आन्तरिक उडानमार्फत ४५ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सहप्रवक्ता ज्ञानेन्द्र भुलले यात्रु र उडान दुवै क्षेत्रमा देखिएको वृद्धिलाई सकारात्मक संकेतको रुपमा व्याख्या गरे । ‘अन्तर्राष्ट्रिय र आन्तरिक दुवै क्षेत्रमा यात्रु संख्या र उडान गतिविधि बढ्नु भनेको नेपालको हवाई यातायात प्रणालीमा जनविश्वास बढ्दै गएको प्रमाण हो । सीमित पूर्वाधारका बाबजुद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो चाप व्यवस्थापन गरिरहेको छ,’ भुलले कान्तिपुरसँग भने ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully