भारतमा ज्यान गुमाउनेका परिवारलाई राहत न क्षतिपूर्ति

सोलन आगलागीमा परेकालाई ‘४ लाख राहत’ ।

माघ १, २०८२

भवानी भट्ट

No relief or compensation for the families of those who lost their lives in India

What you should know

कञ्चनपुर — मध्य तथा सुदूरपश्चिमका अधिकांश बासिन्दाको रोजगारीको गन्तव्य छिमेकी मुलुक भारत हो । जीवनको अधिकांश ऊर्जायुक्त समय भारतमा मजदुरी गरेर बिताउने उनीहरूले केहीगरी परदेशमा ज्यान गुमाउनु पर्‍यो भने राहतसम्म पाउँदैनन् । राहत र क्षतिपूर्तिका लागि पीडित परिवार भौंतारिए पनि उपलब्धि शून्य हुने गरेको छ । जसले उनीहरू झन् पीडित भइरहेका छन् ।

गत साउन तेस्रो साता उत्तराखण्डको उत्तरकाशी जिल्लाको धरालीमा आरीघोप्टे वर्षा हुँदा स्थानीय बजार तहसनहस भयो । धरालीमा आएको बाढीले बगाउँदा २१ जना नेपाली कामदार बेपत्ता भए । बेपत्ताका आफन्तले साता/दश दिनसम्म खोजी गरे । कतै फेला पर्न नसकेपछि घर फर्किए । घर आउनुअघि बेपत्ताका आफन्तले स्थानीय प्रहरीदेखि उत्तरकाशी जिल्ला अधिकारीको कार्यालयमा खोजीकार्य र राहतका लागि निवेदन दिए । अहिलेसम्म  उनीहरूले राहत पाएका छैनन् । 

‘राहत त के काम गरेको ज्यालासमेत पाएनौं, साहु नै बेपत्ता भएकाले कसले ज्याला दिने ?’ कैलालीको टीकापुरका प्रकाश बुढाले भने, ‘त्यसपछि धराली जानै मन लागेन, गढवाल आएर काम गरिरहेका छौं ।’ धरालीमा प्रकाशका भाइ रमेश र बुहारी प्रिया बेपत्ता भएका थिए । उनीहरूको पत्तो नलागेपछि हरिद्वार पुगेर किरिया गरेर घर फर्किएको उनले बताए । त्यसपछि उनीहरू धराली फर्केनन् । अहिले मजदुरीकै लागि उत्तराखण्डकै गढवाल पुगेका हुन् । 

‘दाइको छोरासहित आएर प्रहरी चौकीमा र जिल्ला अधिकारीको कार्यालयमा निवेदन दियौं,’ जाजरकोटको कुशे–२, तालिगाउँका गणेशबहादुर सिंहले भने, ‘पछि खबर गर्छौं भनेका थिए, तर अहिलेसम्म केही जानकारी छैन ।’ उनका दाइ कर्णबहादुर आमाको उपचार र रोजगारीका लागि धराली पुगेका थिए । गणेश अहिले पनि धरालीमै काम गरिरहेका छन् । उनका अनुसार धरालीको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले कतैबाट राहत पाएनन् । बाढीका कारण कमाएको धन पनि पुरिएकाले जेनतेन घर पुगेर किरिया गरेको उनले बताए । 

भारतको उत्तराखण्ड र हिमाचलमा बर्सेनि बाढीपहिरो र सडक दुर्घटनामा परेर ठूलो संख्यामा नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन् । बेपत्ता हुनेको संख्या बर्सेनि बढ्दो छ । तर उनीहरूले राहत तथा क्षतिपूर्ति पाउँदैनन् । गत भदौ अन्तिम साता हिमाचलकै सिमलाको कोटखाईमा जीप दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु भयो । स्याउ टिप्न पुगेका उनीहरूका परिवारले अहिलेसम्म कुनै राहत तथा क्षतिपूर्ति पाएनन् । हिमाचलकै सोलन जिल्लाको अर्कीमा गत सोमबार राति आगालीमा परेर ९ नेपाली कामदारको निधन भएको छ । 

उनीहरूको शवको खोजी तथा उद्धार चलिरहेको छ । अहिले आगलागीमा परेकाको शव खोजी भइरहेको सोलन जिल्लाका उप–आयुक्त मनमोहन शर्माले बताए । उनका अनुसार भीषण आगलागीका कारण शव जलेका हुन सक्छन् । ‘हड्डीका टुक्रा भेटिन थालेका छन्, कुन कसको हो भन्ने पहिचान गर्न गाह्रो छ,’ उनले भने, ‘हामीले खोजी कार्य जारी राखेका छौं ।’

उप–आयुक्त शर्माका अनुसार राष्ट्रिय आपदा प्रतिकार्य बल (एनडीआरएफ), प्रदेश आपदा प्रतिकार्य बल (एसडीआरएफ)सँगै प्रहरी र स्थानीय प्रशसनको टीम खोजी र उद्धारमा जुटेको छ । काठको पुरानो घरमा ताप्नका लागि बालेको आगो फैलिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीमा परेका नेपालीको हकमा राहत उपलब्ध गराइने उनले बताए । 

‘बेपत्ता परिवारका आफन्तहरू आएर निवेदन दिएमा राहत उपलब्ध गराउन सकिन्छ,’ शर्माले भने, ‘सहोदर व्यक्ति आएर निवेदन दिन सकिनेछ ।’ बेपत्ताका आफन्तलाई जनही ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने उनले बताए । भारतमा विभिन्न घटनामा परी बेपत्ता वा मृत्यु भएकाका परिवारले पाउने राहतका विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि बेखबर छ । दूतावासका काउन्सिलर प्रकाश मल्लका अनुसार कतिपय घटनामा राहत पाए/नपाएको विषयमा कुनै जानकारी हुँदैन । यसकारण कहाँ कसले राहत पायो वा पाएन भनेर भन्न सकिने अवस्था हुँदैन । 

उसो त राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ले भारतमा रहेका नेपाली कामदारलाई कल्याणकारी कोषमा आबद्ध गराउने व्यवस्था गरेको छ । गत साउनमा जारी गरिएको उक्त नीति कार्यान्वयन हुन नसक्दा भारतमा विभिन्न समस्यामा परेका कामदार र तिनका आफन्तले कुनै राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully