भैरहवामा बुद्ध एयरको विमानमा यात्रुले अनधिकृत रूपमा आपत्कालीन ढोका खोलेपछि सुरक्षाका लागि प्राविधिक परीक्षण हुँदै उडान ढिलाइ भएको छ।
What you should know
काठमाडौँ — भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज नाइनएन-एएमडी) यात्रुको लापरबाहीका कारण ढिलाइ भएको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार यात्रु सुमन गौतमले अनधिकृत रूपमा विमानको आपत्कालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो।
घटनामा संलग्न यात्रुलाई तत्काल विमानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
हवाई सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षण आवश्यक पर्ने भएकाले काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको बुद्ध एयरले जनाएको छ।
सम्पूर्ण परीक्षण पूरा भई सुरक्षा सुनिश्चित भएपछि मात्र त्यो जहाजले काठमाडौंका लागि उडान भर्नेछ।
नागरिक उड्डयन प्राधिकरणका नियमअनुसार विमानको आपत्कालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा याचना गरेको छ।
एक वर्षअघि पोखराबाट काठमाडौंका लागि उडान नम्बर ६१८ को उडान तयारीका क्रममा एक यात्रुले अनाहकमा जहाजको आपत्कालीन ढोका खोलेका थिए। त्यसपछि प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो उक्त जहाज काठमाडौंका लागि उडेको थियो।
त्यसैगरी, गत अक्टोबर १० मा बिहान ६:०५ बजे काठमाडौं–जनकपुर उडानमा रहेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर अवतरण गरेको थियो। मौसममा सुधार आएपछि विराटनगरबाट जनकपुरका लागि उड्ने तयारी भइरहेका बेला ट्याक्सी–वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको आपत्कालीन ढोका खोलेका थिए। उक्त घटनापछि चालक दलले जहाज पुनः पार्किङ–वेमा फर्काएका थिए। काठमाडौंबाट गएको प्राविधिक टोलीले सम्पूर्ण जाँच गरेपछि दिउँसो १ बजे जहाज जनकपुर अवतरण गरेको थियो।
ती यात्रुबाट ‘भविष्यमा यस्तो कार्य नगर्ने’ शर्तमा क्षतिपूर्ति स्वरूप क्रमशः एक लाख रुपैयाँ क्षतिपूर्ति भराइएको थियो।
बुद्ध एयरले यसरी संकलित क्षतिपूर्ति रकम सम्बन्धित गन्तव्यका परोपकारी संस्थालाई सहयोगस्वरूप प्रदान गर्दै आएको छ। सोहीअनुसार जनकपुरधामस्थित महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई एक–एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
विमान कम्पनीका परिचारिकाहरूले उडानअघि नै आपत्कालीन ढोकाको प्रयोगबारे यात्रुहरूलाई विस्तृत जानकारी गराउने गरेका छन्। आपत्कालीन अवस्थामा बाहेक ढोका खोल्न नपाइने र यसले उडान सुरक्षामा गम्भीर खलल पुर्याउने चेतावनी दिँदै आएको छ।
‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार हवाई उडानमा खलल पुर्याउने व्यक्तिलाई अपराधको प्रकृति हेरी एकदेखि तीन वर्षसम्म कैद वा गम्भीर अवस्थामा जन्मकैदसम्म सजाय हुने कानुनी व्यवस्था रहेको छ। बुद्ध एयरले यस्ता यात्रुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै भविष्यका उडानमा प्रतिबन्ध लगाउने गरेको जनाएको छ।
