के देशले शेरबहादुर देउवा चाहियो भनेर मागेको हो ? : नेता थापा

नेता थापाले विशेष महाधिवेशनबाट अन्तरिम नेतृत्व चयनको प्रस्ताव गर्दै आफूलाई कुनै व्यक्तिगत पद वा लाभ नचाहिएको स्पष्ट रूपमा बताएका छन्।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Did the country ask for Sher Bahadur Deuba?: Leader Thapa

काठमाडौँ — कांग्रेस विशेष अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले ‘जेन–जन आन्दोलनपछि के बदलियो ?’ भन्दै प्रश्न गरेका छन् । उनले भने, 'के देशले शेरबहादुर देउवा नै चाहियो भनेर मागेको हो ?'

नेता थापाले आफूहरूले कुनै व्यक्तिगत पद वा लाभ नचाहेको स्पष्ट पार्दै भने, 'पटक–पटक भनेका छौँ, आज बिहान पनि भनेँ— हामीलाई केही चाहिएको छैन । विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व बनाऔँ । कसलाई बनाउने, तपाईंहरू बनाउनुहोस् । हामीलाई टेक्ने एउटा ठाउँ दिनुहोस् । २१ फागुनको निर्वाचनमा जाँदा केही त नयाँ लिएर जाऔँ । यो म सभापति हुने कुरासँग जोडिएको विषय होइन । हामी जोखिम उठाउन तयार छौँ ।'

उनले अगाडि भने, 'हाम्रो प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर त जाऔँ । उहाँलाई अपमान गर्न खोजिएको होइन, उहाँ हाम्रो नेता हो । तर विशेष महाधिवेशनपछि ‘कांग्रेस बदलिएर आयो’ भन्न सक्ने कि नसक्ने ? प्रश्न यही हो ।'

थापाले कसलाई सभापति बनाउने वा सामूहिक नेतृत्व छानेर निर्वाचनमा जानेसम्मको प्रस्ताव आफूहरूले राखेको स्पष्ट पारे ।

थापाले आफूलाई केही नचाहिएको र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केही नयाँ कुरा लिएर जान जोखिम मोलेको बताए । 

कान्तिपुर

Link copied successfully