क्यान्सर उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल-यात्रा

अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन (पुस १७) बाट सुरु भएको साइकलयात्रा बुधबार गोरखाबाट लमजुङको सुन्दरबजार आइपुगेको हो ।

पुस ३०, २०८२

आश गुरुङ

Cycling tour on the Mid-Hill Highway to support cancer treatment

What you should know

लमजुङ — क्यान्सर प्रभावित विपन्न नागरिकको उपचारमा सहयोग जुटाउने उद्देश्यसहित क्यान्सर विजेतासहितको टोलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा साइकल-यात्रा गरिरहेको छ ।

पाँचथरको उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट सुरु भएको यो अभियान १४औं दिनमा लमजुङ आइपुगेको हो । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन (पुस १७) बाट सुरु भएको साइकलयात्रा बुधबार गोरखाबाट लमजुङको सुन्दरबजार आइपुगेको हो । टोली पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको मेलम्ची, नुवाकोटको विदुर र गोरखाको आरुघाट हुँदै लमजुङ आइपुगेको हो । यात्राकै क्रममा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम पनि विभिन्न स्थानमा सञ्चालन गरिएको छ ।

टोलीले करिब १ हजार ८ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्ग १ महिनाभित्र पार गर्दै पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म पुग्ने लक्ष्य लिएको छ ।

धुलिखेल अस्पतालका प्राध्यापक डा. सुमनराज ताम्राकारका अनुसार क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको नेतृत्वमा क्यान्सर विजेता कविता चित्रकार, धुलिखेल अस्पतालका डा. विकास पराजुलीलगायत १५ जना राइडर अभियानमा सहभागी छन् ।

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सुरु गरिएको यात्राबाट संकलित रकमलाई कोषमा जम्मा गर्ने गरी आगामी फेब्रुअरी ४, विश्व क्यान्सर दिवसका दिन धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ ।

यात्राकै क्रममा डा. ताम्राकारको नेतृत्वमा पाँचथर, तेह्रथुम, धनकुटा, दिक्तेल, सिन्धुपाल्चोक र गोरखामा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भइसकेका छन् । ती कार्यक्रमबाट करिब १ हजार ३ सयभन्दा बढी स्कुले विद्यार्थी तथा महिलाले लाभ लिएको उनले बताए । बुधबार बिहान आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा समेत क्यान्सर सचेतना कार्यक्रम गरिएको थियो ।

यसैबीच, साइकल यात्रा अभियानसम्बन्धी वृत्तचित्र निर्माणका लागि ‘फोर्टिन पिक’ नामक संस्थाका मनिष महर्जनको टोली पनि यात्रामा सहभागी छ । आरुघाटमा गोरखा एपोलो अस्पतालका सञ्चालक मनोज रेग्मी र अमिसा घिमिरेले टोलीलाई आतिथ्यता प्रदान गरेका थिए । पालुङटार नगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

टोली बिहीबार पोखरा पुग्ने कार्यक्रम रहेको डा. ताम्राकारले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully