केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वयले पठाएको ८ बुँदे प्रस्ताव स्वीकार्ने वा विशेष महाधिवेशन पक्षधरमाथि कारबाही गर्ने मध्ये एउटा बाटो लिन सक्छ।
काठमाडौँ — संस्थापन र विशेष महाधिवेशन दुवै पक्षका नेताहरूले सहमतीको अन्तिम कसरतसँगसँगै आ–आफ्नो तयारी पनि अघि बढाइरहेका छन्।
सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ भने विशेष महाधिवेशन पक्षधर नेताहरूले पनि निर्वाचनको तयारीसँगसँगै अघि बढाइरहेका छन्।
केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वयले पठाएको ८ बुँदे प्रस्ताव स्वीकार्ने वा विशेष महाधिवेशन पक्षधरमाथि कारबाही गर्ने मध्ये एउटा बाटो लिन सक्छ। विशेष महाधिवेशन पक्षधर नेताहरू भने केन्द्रीय कमिटीले लिने निर्णयपछि सहमती कार्यान्वयनतर्फ जाने कि निर्वाचन गर्ने भन्नेमा जानेछन्।
संस्थापन पक्षसँग भएका वार्ता र छलफलहरू टुंगोमा नपुगीरहेको पृष्ठभूमिमा विशेष महाधिवेशन पक्षधरहरूले ८ बुँदे प्रस्ताव पनि पठाएका छन्। तर त्यसमा संस्थापन पक्षको भनाइ सार्वजनिक भइसकेको छैन।
विशेष महाधिवेशन पक्षधरहरूले पठाएको ८ बुँदे प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने लगायतका विषय समेटिएका छन्।
संस्थापन पक्षका एक नेताले समितिको बैठकमा ८ बुँदे कार्यन्वयन गरेर जान नसक्ने बियषयमा केही सदस्यहरुले आफ्नो मत राखेको बताए ।
संस्थापन पक्षले सहमतीको प्रयासमा लचक नभएमा निर्वाचनको प्रक्रिया अगाडि बढाउने तयारीमा विशेष महाधिवेशन पक्षधर देखिन्छन्। त्यसका लागि उनीहरूले केन्द्रीय कार्यसमिति घोषणा गर्ने तयारी पनि गरिरहेका छन्।
विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका लागि संसोधित कार्यतालिका सार्वजनिक गरेका छन्। त्यसअनुसार ८ बजेबाट मतदान सुरु हुने र ११ बजेसम्म रहने उल्लेख गरिएको छ। मतगणना र निर्वाचन परिणाम सार्वजनिक गरिने समय भने उल्लेख गरिएको छैन।
सम्बन्धित समाचार
संस्थापनलाई पठाइयो प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानेसहितका ८ बुँदे प्रस्ताव
