देउवाको राजीनामाको विकल्पमा पार्टी संचालन गर्ने ‘हाईकमान्ड’ निर्माणको प्रस्ताव 

पार्टी संचालनका लागि हाईकमान्ड बनाउने सहमति भएमा आगामी १५ औं महाधिवेशनसम्मका लागि देउवालाई 'सेरोमोनियल' हैसियतमा राख्न महाधिवेशन पक्षधर नेताहरु लचक भएका छन् ।

पुस २९, २०८२

कुलचन्द्र न्यौपाने

Proposal to form a 'high command' to run the party as an alternative to Deuba's resignation

काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले सभापति शेरबहादुर देउवाको राजीनामाको विकल्पमा पार्टी संचालनका लागि हाईकमान्डको विकल्प अघि सारेका छन् ।

पार्टी संचालनका लागि हाईकमान्ड बनाउने सहमति भएमा आगामी १५ औं महाधिवेशनसम्मका लागि देउवालाई 'सेरोमोनियल' हैसियतमा राख्न महाधिवेशन पक्षधर नेताहरु लचक भएका छन् । 

महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको मुद्दा नै नेतृत्व परिवर्तन रहेकाले त्यस विषयमा अझै सहमति भइनसकेको बताए । उनका अनुसार देउवाले राजीनामा दिने, त्यसमा मात्रै निर्वाचन गराउने, अन्तिम कार्यसमिति बनाएर नेतृत्व चयनमा खुला हुने विकल्पमा सहमति नभएपछि पार्टी संचालनका लागि हाईकमान्डसहित टिकट वितरण गर्ने, संसदीय बोर्ड सहमतिका आधारमा बन्नुपर्ने, सभापतिले आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न हुनेलगायतका माग समेत योसँग जोडिएका छन् । 

कार्यवाहक सभापति, महामन्त्रीद्वय, नेता शेखर कोइरालासहितको पार्टी संचालनको हाइकमान्ड बनाउने प्रस्ताव महाधिवेशन पक्षधर नेताहरुको छ । संस्थापन पक्षबाट वार्तामा सहभागी केन्द्रीय सदस्यहरु बालकृष्ण खाण र रमेश लेखकले यस विषयमा सभापतिकै सहमति हुनुपर्ने भन्दै वार्तास्थलबाट देउवा निवास गएका थिए । 

खाण र लेखकले सभापतिलाई सम्मानजनक बहिर्गमन हुन चाहेकाले अहिल्यै हटाएर अपमानित गर्न नहुने धारणा राखेका थिए । त्यसपछि देउवालाई सेरोमोनियल हैसियतमा राखेर पार्टी संचालन हाईकमान्डले संचालन गर्नेगरी विकल्प खोजिएको घिमिरेले बताए । 

विशेष महाधिवेशनलाई स्वामित्व लिने र त्यसले गरेका निर्णयलाई कार्यान्वयन गर्ने दिशामा भने संस्थापन पक्षले सहमति जनाएको छ ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully