गौरीगाउँस्थित सडकमा मोटरसाइकल टिपरमा ठक्कर खाँदा गएराति दुर्घटना भएको थियो ।
काठमाडौँ — काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एकजनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए ।
