कुराकानीका क्रममा देउवाले बाह्य शक्ति लागेको भए पार्टी विभाजन हुन सक्ने र आन्तरिक कारण भए आफू पार्टी मिलाउन लचक हुने कुरा बताएका छन्।
काठमाडौँ — बिहानैदेखि महाराजगञ्जस्थित निवासमा संस्थापन पक्षीय नेताहरूसँग भेटघाटमा रहेका पार्टी सभापति शेरबहादुर देउवाले भेटघाटलाई साँझसम्म निरन्तरता दिएका छन्।
सभापतिसँग भेट गरेर फर्किएका एक नेताका अनुसार देउवाले आफू जतिबेला पनि महामन्त्रीहरूसँग संवाद गर्न तयार रहेको बताएका छन्। ती नेताले देउवालाई उद्धृत गर्दै भने, ‘म संवाद गर्न र लचक हुन तयार छु भनेर सभापतीले भन्नुभयो।’
कुराकानीकै क्रममा एक नेताले सभापति देउवालाई महामन्त्रीहरूसँग कुराकानी गर्नुपर्ने कुरा उठाएका थिए। जवाफमा देउवाले आफ्नै शैलीमा भने, ‘मैले कहिले नाइ भनेको छु र ?’
सभापतिसँग कुराकानी गरेर फर्किएका एक नेताका अनुसार देउवाले बाह्य शक्ति लागेको भए पार्टी विभाजन हुन सक्ने र आन्तरिक कारण भए आफू पार्टी मिलाउन लचक हुने कुरा बताएका छन्। सभापतिसँगको भेटघाटमा संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनको दोस्रो दिन पनि कुनै निर्णय नगरी यसलाई लम्ब्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिएका थिए।
सम्बन्धित समाचार
