लुम्बिनी प्रदेश सभा सदस्यबाट राजिनामा दिएर संघीय चुनाव लड्ने पूर्वमन्त्रीको घोषणा

माघ ६ अघि नै प्रदेश सभा सदस्यबाट राजिनामा दिने दाबी ।

पुस २८, २०८२

घनश्याम गौतम

Former minister announces resignation from Lumbini Provincial Assembly seat and contests federal elections

What you should know

बुटवल — लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजिनामा दिएर संघीय संसद‍्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ (२) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । चौधरी शनिबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । त्यसलगत्तै उनले बर्दिया २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै प्रदेश सभा सदस्यबाट राजिनमा दिने बताएका छन् ।

‘मैले नागरिक उन्मुक्ति पार्टीबाट राजिनामा गरिसकेको छु, माघ ६ गतेभित्र नै लुम्बिनी प्रदेश सभामा सदस्य पदको पनि राजिनामा दिँदै छु,’ उनले भने, ‘अबको मेरो राजनीतिक यात्रा उज्यालो नेपाल पार्टीबाट हुनेछ ।’

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादमा धर्मबहादुर चौधरी रञ्जिताको पक्षमा थिए । लुम्बिनी प्रदेशमा नाउपाका चार प्रदेश सभा सदस्यमध्ये तीन जना श्रेष्ठको पक्षमा छन् ।

नाउपाकी प्रमुख सचेतक नरमाया ढकालले चौधरीले पार्टी र प्रदेश सभा सदस्य दुवै पदबाट राजिनामा पनि नदिएको र पार्टीलाई कुनै जानकारी पनि नगराएकाले आधिकारिता टुंगो नलागेको बताइन् ।

‘आजसम्म पनि उहाँ नागरिक उन्मुक्ति पार्टीमै हुनुहुन्छ,’ उनले भनिन्, ‘अर्को पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्राप्त भएपछि मात्र अन्य प्रकृया सुरु हुन्छ ।’

यता लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले प्रदेश सभा सदस्य प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नु अघि नै प्रदेश सभा सदस्यबाट अनिवार्य राजिनामा दिनुपर्ने बताए ।

‘प्रदेश सभा सदस्य बहाल रहेकै अवस्थामा माथिल्लो संसद‍्का लागि उम्मेदवार बन्न मिल्दैन,’ उनले भने, ‘राजिनामा गर्नैपर्ने कानुनी व्यवस्था छ । राजिनामा नगरी उम्मेदवारी दर्ता गरेमा निर्वाचन आयोगले उम्मेदवारी नै खारेज गर्न सक्छ ।’ 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully