कुलमानसँगको सहमति भाँडिएसँगै बालेन्द्रका यस्ता धेरै 'एडिटेड' स्टाटस सामाजिक सञ्जालमा छ्यापछ्यप्ती देखिन्छन् ।
What you should know
यो स्टाटसलाई लिएर जनआस्था साप्ताहिकको अनलाइन संस्करणले समेत समाचार प्रकाशित गरेको छ । ‘भावी प्रधानमन्त्री’को यस्तो हुन्छ भाषा ? शीर्षकमा प्रकाशित समाचारमा बालेन्द्रको नामबाट आएको अभिव्यक्तिमा कुलमान घिसिङप्रति आपत्तिजनक तथा जातीय पहिचानसँग जोडिएका शब्द प्रयोग गरिएको उल्लेख गरिएको छ ।
तर बालेन्द्रको आधिकारिक फेसबुक पेज तथा अन्य प्रमाणित सामाजिक सञ्जाल खाताहरू हेर्दा यस्तो कुनै पनि स्टाटस पोस्ट भएको देखिँदैन । हालसम्म उनले उक्त स्टाटस आफ्नै हो वा होइन भन्ने विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
भाइरल भइरहेको स्क्रिनसट ‘Aaren Rai (आरेन राई)’ नामक फेसबुक समूहमा ‘प्रिन्स लिम्बु’ नामको अकाउन्टबाट सोमबार बिहान ४ बजेर १३ मिनेटमा पोस्ट गरिएको देखिन्छ । तर सो स्टाटसमा प्रयोग गरिएको भाषा, अत्यधिक अशुद्ध लेखाइ र बालेनको सामान्य लेखनशैलीसँग मेल नखाने शब्द चयनका आधारमा उक्त स्टाटस ‘एडिटेड’ वा नक्कली हुन सक्ने आशंका गरिएको छ ।
एउटा 'एडिटेड' पोस्टमा लेखिएको छ, 'विरिष्ठ उपाध्यक्ष चाहियो, महामन्त्री चाहियो, आधा कार्यकाल प्रम चाहियो । पार्टीको नाम परिवर्तन गर्नुपर्यो । तत्कालिन माउवादीले भन्ने गरेको साम्यवाद चाहियो । यति कुरा दिएर rsp ले आफ्नो अस्तित्व खतरामा पार्ने गरी सम्झौता गर्नु हुन्न सेलिब्रेटी ल्याउने चक्करमा गाउँमा संगठन बनाउँदै हिँडेका इमान्दार कार्यकर्तामाथि घात हुने निर्णय गर्नु हुँदैन ।'
