डाक्नेश्वरी नगरपालिकाको प्रमुख पदमा पराजित भएपछि उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेर सप्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
राजविराज — राष्ट्रिय मुक्ति पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको शनिबार निधन भएको छ । शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातोस्थित आफ्नै निवासीमा उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
२००४ सालमा जन्मेका उनी लामो समयसम्म तत्कालीन प्रधानपञ्च रहे । ०४६ देखि नेपाली कांग्रेस पार्टीमा लागेका उनी ०७४ मा स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र निर्वाचन लडेका थिए ।
डाक्नेश्वरी नगरपालिकाको प्रमुख पदमा पराजित भएपछि उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गरेका थिए । सोही पार्टीबाट सप्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
त्यस क्षेत्रका विद्यालय, नगरपालिकाको कार्यालय, हाटबजारसहितका लागि आफ्ना पुर्ख्यौली जग्गासमेत दान गरेका स्वर्गीय चौधरीका दुई छोरा र एक छोरी छन् । उनको आइतबार दाहसंस्कार गरिने परिवारजनले जनाएको छ ।
