हेटौंडामा भत्काइएका घरमा व्यापार गर्न रोक, व्यवसायी भन्छन्- 'स्टकको सामान के गर्नु ?'

भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् ।

पुस २६, २०८२

रासस

Businessmen banned from trading in demolished houses in Hetauda - 'What to do with stock?'

What you should know

बागमती — जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका लागि भत्काइएका जोखिमपूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, 'भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।'

यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसायी सञ्चालन भइरहेको छ ।

मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालय भत्काएको थियो । 

सर्वाेच्च अदालतको आदेशका कारण हाल सडक विस्तारको कार्य रोकिएपछि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीहरूले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । जसका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय कैलाश थापाले बताए । 'सडक डिभिजन कार्यालयले भत्काएर भग्नावशेष अवस्थामा छाडेका घरबाटै व्यापारीहरूले पसल चलाइरहेका छन्,' उनले भने, 'जसका कारण कुनै पनि बेला घर भत्किएर ठूलो जनधनको क्षति हुन सक्छ ।' भत्किएका घरमा पसल सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने उनको भनाइ छ । 

सडक विस्तारका लागि घरलाई भग्नावशेष बनाएर छाडेपछि आफूहरू अन्योलमा बताउँदै स्थानीय व्यापारी रोशन श्रेष्ठले कुनै विकल्प नभएकाले तत्कालका लागि ‘स्टक’मा रहेको सामानहरू मात्र बिक्री गरिरहेको बताए ।

'नयाँ सामानहरू बाहिरबाट मगाएको छैन,' उनले भने, 'स्टकमा रहेका सामान त बिक्री गर्नैपर्‍यो, फ्याल्नुभएन । त्यसैले ‘स्टक’को सामान जोखिम उठाएरै भए पनि बिक्री गरिरहेको छु ।' 

सर्वोच्च अदालतमा सडक विस्तारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सडक विस्तारको काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीले बताए । भत्किएका घरमा व्यापार पसल नगर्न व्यापारीहरूलाई आग्रह गरे पनि कतिपय व्यापारीहरूले जोखिमपूर्ण रूपमै व्यापार व्यवसायी सञ्चालन गरिरहेको उनको भनाइ छ । 

रासस

Link copied successfully