काठमाडौं विश्वविद्यालयमा सोमबारदेखि ‘एआई कन्क्लेभ’ हुँदै

‘ब्रिजिङ इन्टेलिजेन्स एण्ड इनोभेसन’ नारासहित आयोजना गरिएको ‘एआई कन्भर्जेन्स २०२६’ मा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखिएको छ।

पुस २६, २०८२

ज्योती श्रेष्ठ

'AI Conclave' to be held at Kathmandu University from Monday

What you should know

काभ्रे — धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘एआई कन्क्लेभ २०२६’ हुने भएको छ।

काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत रहेको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा एआई कन्क्लेभ हुन लागेको हो। क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स २०२६’ अर्न्तगत दोस्रो चरणको कार्यक्रममा एआई कन्क्लेभ आयोजना गर्न लागेको जनाइएको छ। 

नवप्रवर्तन, नेतृत्व विकास, नयाँ सीप सिकाइ तथा एकेडेमिया र इन्डस्ट्रीबीचको खाडल कम गर्नका लागि विद्यार्थीहरुको नेतृत्वमा सन् २०२२ क्लबको स्थापना गरिएको केयुएआई क्लबका अध्यक्ष अशिम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार यसअघि क्लबले सन् २०२४ र २०२५ मा पनि एआई मिट सम्पन्न गरिसकेको छ । अघिल्लो वर्षको कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्भर्जेन्स’ आयोजना गरिएको उनले बताए । एआई क्षेत्रमा सिकाइदेखि नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा समेट्ने कार्यक्रमको उद्देश्य रहेको उनले बताए।  

उनका अनुसार एआईलाई रिसर्च वा जेनरेटिभ टुलमा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग र समाजमा यसको व्यवहारिक प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य ‘एआई कन्क्लेभ’ले लिएको छ । 

‘ब्रिजिङ इन्टेलिजेन्स एण्ड इनोभेसन’ नारासहित आयोजना गरिएको ‘एआई कन्भर्जेन्स २०२६’ मा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखिएको उनले बताए ।  

तीन चरणमा ‘एआई कन्भर्जेन्स २०२६’ सञ्चालन भइरहेको एआई कन्भर्जेन्सका संयोजक रञ्जित राउतले बताए । उनका अनुसार पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश छन्। दोस्रो चरण ‘एआई कन्क्लेभ’ जनवरी १२, १३ र १४ मा काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सञ्चालन हुने उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने राष्ट्रियस्तरको कार्यक्रममा जनवरी १२ मा ‘नेशनल लेभल एआई समिट’ हुनेछ । जनवरी १३ मा प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक टक्स तथा एक्सपो सञ्चालन हुनेछ भने जनवरी १४ मा ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, इ–गेम्सको फिनाले, एआई सम्बन्धी जनचेतनामूलक कार्यक्रम, एआई नीतिमा छलफललगायतको कार्यक्रमसँगै एआई कन्क्लेभ समापन हुनेछ। 

जनवरी १४ मा कन्क्लेभको समापनसँगै ‘रिफ्रेस एण्ड कल्चर’ कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । तीन दिने ‘एआई कन्क्लेभ’ मा पाँच हजार दर्शक सहभागी हुने आयोजकले अनुमान गरेको छ । 

दोस्रो र तेस्रो दिनका कार्यक्रम सर्वसाधारणका लागि पनि खुला रहनेछन् । कार्यक्रम काठमाडौं विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । तेस्रो चरण ‘एआई क्रुसेड’ मार्च अन्त्यतिर आयोजना हुने उनले बताए ।  

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully