मन्त्री गुप्ताको प्रश्न - 'भिसा प्रक्रियामै सामेल नभई कसरी भ्रमण रद्द भयो ?'

मन्त्री गुप्ताले विदेश जाने प्रक्रिया नै नचलाएको दाबी गरेका छन् ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Minister Gupta's question - 'How was the visit canceled without being involved in the visa process?'

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मिडियाबाट आफू अमेरिका जान लागेको अफवाह फैलाइएको भन्दै त्यसको प्रस्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै मन्त्री गुप्ताले विदेश जाने प्रक्रिया नै नचलाएको दाबी गरेका छन् । 

'युवा तथा खेलकुद मन्त्रालयमा हामीलाई विभिन्न देश तथा विदेशबाट कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आउँछ र जाने/नजाने हाम्रो समय र तालीका अनुसार हुन्छ,' उनले प्रश्न गर्दै भनेका छन्, 'आज त हेरियो बाहिर जाने कुरा रद्द गरियो समाचारहरुमा । भिसा प्रोसेस गरेको छैन, रद्द कसरी गरियो ??'

सत्य-तथ्य जाँचबुझ नगरी खबर प्रकाशन गर्दा देश, समाजलाई भलो नगर्ने उनको भनाइ छ । 'अनर्गल आरोपहरू, अतिरञ्जित टीकाटिप्पणीहरू र विषयवस्तुको गहिराईमा नपुगी, सत्य तथ्य जाँचबुझ नगरि तथ्यलाई तोडमोड गरेर फैलाइने खबरहरूले समाजको भलो गर्दैन, देशको भलो गर्दैन । लोकतन्त्र र वाक् स्वतन्त्रतामा, आलोचनात्मक चेतना सहितको खबरदारी र जवाफदेहिताको खोजी जति सुन्दर हुन्छ, अपुष्ट अनि अनावश्यक आरोप र नियतवशको खेदाई त्यतिकै कुरूप हुन्छ, अनैतिक हुन्छ,' मन्त्री गुप्ताले लेखेका छन् । 

यसैबीच गैरआवासीय नेपाली संघले युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा माफी मागेको छ । गैरआवासीय नेपाली संघबीच समन्वय नहुँदा एउटै लेटर प्याडमा फरक-फरक विज्ञप्ति आएको भन्दै माफी मागेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully