प्रहरीले जाहेरी लिन नमानेको भन्दै सामूहिक बलात्कार पीडित किशोरी काठमाडौंमा

बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा १६ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको परिवारको दाबी छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Gang rape victim in Kathmandu says police refused to take complaint

बाँके — बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा ९ दिनअघि भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै पीडित किशोरी परिवारसहित काठमाडौं आइपुगेकी छन् ।

बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा पुस १६ गते १६ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको परिवारको दाबी छ । 

राति साढे ११ बजेको समयमा शौचालय जान लागेका बेला आफ्नै घरको आँगनबाट ५ जना पुरुषले उनलाई लिएर गएको र घर छेवैको गोठमा उनीमाथि बलात्कार भएको पीडित किशोरीको परिवारले जनाएको छ । पीडितका परिवारका अनुसार उनीहरुले घटनालगत्तै प्रहरी कार्यालय बाँकेमा जाहेरी लिएरसमेत गएका थिए । तर प्रहरीले जाहेरी नै लिन नमानेको उनीहरुको भनाइ छ । 

प्रहरीले जाहेरी लिन नमानेपछि पीडितसहित परिवार बिहीबार काठमाडौं आइपुगेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा हामीले यो घटनाका बारेमा बुझ्दा प्रहरीले महिला तथा बालबालिकाको लागि काम गर्ने संस्थामार्फत पीडित प्रहरीमा आएको जानकारी दिए । 

स्वास्थ्य परीक्षण गरेर आउन आग्रह गरेपछि फर्किएको परिवार त्यसपछि सम्पर्कमा नआएको तर तीन दिनअघि हुलाकमार्फत जाहेरी प्राप्त भएको प्रहरीको भनाइ छ । सनाखतका लागि व्यक्ति आएमा जाहेरी दर्ता हुने र कानुनी प्रकिया अघि बढ्ने प्रहरीले बताएको छ ।

कान्तिपुर

Link copied successfully