विजयानन्द ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन् ।
काठमाडौँ — अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौंथो वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
विजयानन्द ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन् । लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्वीट्जरल्यान्ड, क्यानडा र अमेरिकामा करिब दुई दशकदेखि सेवा दिइरहेको छ । प्रोग्रमरका रुपमा करिअर सुरुआत गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्री हासिल गरेका छन् ।
कार्यसमितिको बोर्ड सदस्यहरुमा फोर्ड कम्पनीका आकाश गोल्छा, जुनो कम्पनीका मनिष थापा, मोघा इनर्जीका समराथ मोघा, बोटलर्स नेपालका स्नेह राजभण्डारी, पठाओ नेपालकी सुरक्षा हमाल, डियर होल्डका सचिन करनजीत चयन भएका छन् । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजितविक्रम शाह, सेमन्त दाहाल र निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ पनि बोर्ड सदस्यमा चयन भएका छन् ।
अमेरिकी राजदूत डिन आर थम्पसनले व्यापार, लगानी तथा पारदर्शी र पूर्वानुमानयोग्य व्यावसायिक वातावरणको प्रवर्धनमा अमेरिकी दूतावास नेपाल र एमच्याम नेपालबीचको सुदृढ साझेदारीलाई विशेष रूपमा उल्लेख गरे । उनले एमसीसी नेपाल कम्प्याक्टले अमेरिकी तथा नेपाली कम्पनीका लागि सृजना गर्ने रूपान्तरणकारी अवसरबारे प्रकाश पार्दै नेपाली बजारमा अमेरिकी कम्पनीहरूको निरन्तर प्रवेश भइरहेको तथ्यबारे चर्चा गरे ।
कार्यक्रममा एमच्याम नेपालका कार्यकारी निर्देशक अमीरराज थापाले बोर्डको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले बोर्डको प्रतिवेदन र कम्पनीको वित्तीय प्रतिवेदन अनुमोदन गरेको छ ।
