भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा थम्प्सनले पौडेललाई भेटेका हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि आइतबार राजदूत थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए ।
थम्प्सन २०२२ अक्टोबरमा नेपालका लागि राजदूत नियुक्त भएका थिए । उनी र्यान्डी बेरीको ठाउँमा नेपाल आएका थिए ।
केही दिनअघि अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको थियो । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूताबासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो ।
पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त गरिएका राजदूतलाई ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्षपछि फिर्ता बोलाएको र अरू राजनीतिक नियुक्तिहरु पनि खारेज गर्न सक्ने सम्भावना रहेको विदेशमन्त्री मार्को रुबियोको भनाइ उद्धृत गर्दै समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको थियो ।
राजदूतको कार्यकाल अवधि सामान्यतया ३ देखि ४ वर्ष हुने भए पनि राजनीतिक नियुक्ति भएकाले राष्ट्रपति प्रशासनले कुनै पनि समयमा फिर्ता बोलाउन सक्ने प्रावधान रहेको छ ।
