देउवाको गृह प्रदेशमा विशेष महाधिवेशन पक्षधर कमजोर तर उत्साहित

विशेष महाधिवेशन स्थानीय तह समन्वय निर्देशक समितिका सुदूरपश्चिम संयोजक भरतबहादुर रोकायाका अनुसार सुदूरपश्चिमबाट ४ सय ९ जना महाधिवेशन प्रतिनिधि रहेकामा विशेष महाधिवेशनको पक्षमा १ सय ३४ जना खुलेका छन् ।

पुस २४, २०८२

अर्जुन शाह

Supporters of special general convention in Deuba's home province weak but excited

What you should know

धनगढी — नेपाली कांग्रेसमा बढेको आन्तरिक मतभेद गहिरिँदै जाँदा सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा विशेष महाधिवेशन पक्षधर कमजोर भएर पनि उत्साहित देखिएका छन् ।

विशेष महाधिवेशन स्थानीय तह समन्वय निर्देशक समितिका सुदूरपश्चिम संयोजक भरतबहादुर रोकायाका अनुसार सुदूरपश्चिमबाट ४ सय ९ जना महाधिवेशन प्रतिनिधि रहेकामा विशेष महाधिवेशनको पक्षमा १ सय ३४ जना खुलेका छन् । ‘सुदूरपश्चिममा यति संख्या हुनु उत्साहजनक अवस्था हो,’ उनले भने । 

सुदूरपश्चिमका नौ वटा जिल्लामा कुनै पनि जिल्ला सभापति स्पष्ट रुपमा विशेष महाधिवेशनको पक्षमा खुलेका छैनन् । बाजुराका सभापति रामसिंह रावल, बैतडीका सभापति चतुरबहादुर चन्द र दार्चुलाका सभापति ललितसिंह बोहरा संस्थापन (देउवा पक्ष) इतरका भए पनि उनीहरु पनि विशेषको पक्षमा भने खुलिसकेका छैनन् । बाजुराका सभापति रावलले आफू काठमाडौंमै भए पनि विशेष महाधिवेशनमा सहभागी नहुने बताए ।

६ जिल्ला सभापति भने देउवा निकटकै हुन् । कैलालीका सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका सभापति पदम बोगटी, डडेल्धुराका सभापति भीमबहादुर साउँद, डोटीका सभापति नरेन्द्रबहादुर सिंह, अछामका सभापति पुष्पबहादुर शाह र बझाङका सभापति खड्क बोहरा संस्थापन पक्षकै नेताहरु हुन् । बाजुराका रावल र दार्चुलाका बोहरा कोइराला पक्षधर हुन् ।

बैतडीका सभापति चतुरबहादुर चन्द भने विशेष महाधिवेशन पक्षधर हुन् । उनले केन्द्रले विशेष महाधिवेशन नबोलाउनु पार्टी विधानको उल्लंघन भएको बताए । ‘म त प्रस्टै विशेष महाधिवेशन पक्षधर हुँ, हस्ताक्षरकर्तासमेत हुँ, तर केन्द्रले बोलाएन, महामन्त्रीले बोलाउनु भएको छ,’ उनले भने, ‘पार्टी नटुट्ने अवस्थामा सहभागी हुन्छु, हेर्दैछु, बुझ्दैछु, घटनाक्रम कसरी अघि बढ्छन् ।’ 

स्थानीय तह समन्वय निर्देशक समितिका सुदूरपश्चिम संयोजक रोकायाले सुदूरपश्चिम पार्टी सभापति देउवाको गृहप्रदेश भएकाले विशेष पक्षधर कमजोर देखिनु स्वाभाविक भए पनि जति खुलेका छन्, त्यो संख्या उत्साहजनक रहेको बताए । ‘विशेषको पक्षमा अन्य प्रदेशमा धमाधम संख्या बढ्दैछ,’ उनले भने, ‘यताको कम संख्यालाई अन्य प्रदेशको संख्याले सहजै कभर गर्छ ।’

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully