लमजुङका दुवै क्षेत्रीय सभापति, ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ३ गाउँपालिकाका पार्टी सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
What you should know
लमजुङ — नेपाली कांग्रेस लमजुङमा विशेष महाधिवेशनलाई लिएर ध्रुवीकरण देखिएको छ । कूल २७ जना महाधिवेशन प्रतिनिधिमध्ये २२ जना विशेष महाधिवेशनको पक्षमा स्पष्ट खुलेका छन् । यो कूल संख्याको ८१.४८ प्रतिशत हो ।
कूल २७ जनामध्ये ५ जना महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । पार्टी सभापति पदेनसमेत गरी लमजुङबाट २८ जना महाधिवेशन प्रतिनिधि रहेकामा एक जनाको निधन भइसकेको छ । दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधनपछि हाल प्रतिनिधि संख्या २७ कायम छ ।
ठूलो संख्या विशेष महाधिवेशनको पक्षमा उभिँदा पनि पार्टी सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ भने विपक्षमै छन् । पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, पूर्वसांसद (संविधानसभा सदस्य) चन्द्रबहादुर कुँवर र पार्टीका पूर्वसभापति तथा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
यसअघि विशेष महाधिवेशनको पक्षमा खुलेको चर्चा चलेका कोइरालाले भने आफू नियमित महाधिवेशनको पक्षमा रहेको तर विशेष महाधिवेशनको समर्थन नगरेको स्पष्ट पारेका छन् ।
कांग्रेसका पूर्वसभापति तुलसीनारायण श्रेष्ठका अनुसार पार्टी सभापति डा. गुरुङ, पूर्वराज्यमन्त्री गुरुङ र पूर्वसांसद कुँवरबाहेक अन्य सबै महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा छन् । ‘२४ जना मात्रै पक्षमा छन्,’ उनले दावी गरे ।
महाधिवेशन प्रतिनिधि तथा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर विशेष महाधिवेशनको पक्षमा उभिएको घोषणा गरेका हुन् ।
पूर्वसभापति एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, पूर्वसभापति तुलसीनारायण श्रेष्ठलगायत २१ जना प्रतिनिधिले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक अवस्थालाई आधार मानेर विशेष महाधिवेशन आहृवानको माग गर्दै असोजमै हस्ताक्षर गरेको तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताए । पछिल्लो समय पार्टी सभापति गुरुङसँग नजिक भनिएका उनीसमेत खुला रुपमा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
तटस्थ रहेको दाबी गर्दै आएका कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे पनि विशेष महाधिवेशनको समर्थनमा छन् । विदेशमा रहेका महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङले समेत हस्ताक्षर पठाएर विशेष महाधिवेशनको समर्थन जनाएका छन् ।
लमजुङका दुवै क्षेत्रीय सभापति, ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ३ गाउँपालिकाका पार्टी सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । जिल्ला सचिव विमल श्रेष्ठ, २ जना क्षेत्रीय सभापति र स्थानीय तहका ७ जना पार्टी सभापतिले बिहीबार पार्टीको लेटरप्याडमै हस्ताक्षर गर्दै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक आहृवान गरेका छन् । दोर्दी गाउँपालिका सभापति विच्छबहादुर घले विशेष महाधिवेशनको पक्षमा खुलेका छैनन् ।
कांग्रेस लमजुङमा यसअघि सचिव कृष्णबहादुर अधिकारीले सूचना तथा विज्ञप्ति जारी गर्दै आएकामा महाधिवेशन प्रतिनिधिलाई आहृवानसहितको अनुरोधपत्रमा अर्का सचिव श्रेष्ठको हस्ताक्षर छ । सचिव अधिकारी पार्टी सभापति डा. गुरुङ पक्षधर हुन् ।
