कर्णालीमा विशेष महाधिवेशनको पक्षमा झण्डै ४० प्रतिशत

‘गुटगत भेला गर्न पाइयो, त्यो कुरा केही साथीहरूको स्वतन्त्रताको विषय पनि होला,’ कांग्रेस प्रदेश सभापति शाहीले भने, ‘तर नियमित महाधिवेशनको निर्णय भइसकेको अवस्थामा यस्ता भेलाको कुनै अर्थ हुँदैन ।’

पुस २४, २०८२

कृष्णप्रसाद गौतम

Nearly 40 percent in favor of special general convention in Karnali

What you should know

सुर्खेत — नेपाली कांग्रेस जुम्लाका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १९ जना गाडी ‘रिजर्व’ गरेर बिहीबार काठमाडौं हिँडेका छन् । ‘कांग्रेस बचाउन पनि महाधिवेशन अनिवार्य देखियो,’ टोलीको नेतृत्व गरेका जुम्ला उपसभापति कार्मा बुढाले भने, ‘बहुसंख्यक महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा भएपछि एउटै गाडी रिजर्व गरेर संघीय राजधानीतिर हिँडेका हौं ।’

जुम्ला कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहजिल्ला हो । उनी भने नियमित महाधिवेशनको पक्षमा छन् ।

सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टसहित १० जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् भने रुकुम पश्चिमका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये ९ जनाले सहभागिता जनाउने महाधिवेशन प्रतिनिधि खडकबहादुर डाँगीले बताए । उनका अनुसार जाजरकोटका १८ जनाले हस्ताक्षर गरेका थिए । 

कर्णालीमा ३ सय १२ महाधिवेशन प्रतिनिधिमध्ये झण्डै ४० प्रतिशत विशेष महाधिवेशनको पक्षमा छन् । यसअघि १ सय ३७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । सुर्खेतका ९ र कालीकोटका ११ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए भने डोल्पाबाट निर्वाचित केन्द्रीय सदस्य कर्णबहादुर बुढा पनि विशेष महाधिवेशनको पक्षमा छन् । 

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनोटमा असन्तुष्टि जनाएकाहरू विशेष महाधिवेशनमा थपिने रुकुम पश्चिमका महाधिवेशन प्रतिनिधि डाँगीको दाबी छ । ‘२/४ जनाले फिर्ता पनि लिनुभयो, सबैजसो जिल्लामा ५/७ जना साथीहरूको असन्तुष्टि छ,’ उनले भने, ‘उहाँहरूले हस्ताक्षर नगरे पनि विशेष महाधिवेशनमा सहभागी हुने बचन दिनुभएको छ ।’ उनले कर्णालीबाट सहभागी हुनेको संख्या झण्डै ५० प्रतिशत कट्ने दाबी गरे । दैलेखकी महाधिवेशन प्रतिनिधि बासना थापाले विशेष महाधिवेशनको पक्षमा माहोल बन्दै गएको र बहुसंख्यक महाधिवेशन प्रतिनिधि कार्यक्रममा सहभागी हुने बताइन् । 

विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेका केही महाधिवेशन प्रतिनिधिले भने आफूहरूले नाम फिर्ता लिएको जनाएका छन् । कालीकोटका महाधिवेशन प्रतिनिधि एवं तिलागुफा नगरप्रमुख शंकरप्रसाद उपाध्यायले नियमित महाधिवेशनका लागि दबाब दिन आफूले हस्ताक्षर गरेको बताए ।

‘कांग्रेस सुध्रिन्छ कि भनेर हस्ताक्षर गरेको थिए,’ उनले भने, ‘तर पार्टी फुट्ने जोखिम भएपछि विशेष महाधिवेशनमा नजाने निर्णय गरे ।’ कांग्रेस प्रदेश सभापति शाहीले पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमितिको बैठकबिना व्यक्ति विशेषले बोलाएको भेला आधिकारिक नहुने दाबी गरे ।  ‘गुटगत भेला गर्न पाइयो, त्यो कुरा केही साथीहरूको स्वतन्त्रताको विषय पनि होला,’ उनले भने, ‘तर नियमित महाधिवेशनको निर्णय भइसकेको अवस्थामा यस्ता भेलाको कुनै अर्थ हुँदैन ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully