कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार कास्कीका ७८ जना महाधिवेशन प्रतिनिधिमध्ये ६१ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामा मिलन थापा भने रास्वपा प्रवेश गरेकी छन् ।
What you should know
पोखरा — नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीले पार्टीको आगामी विशेष महाधिवेशनमा सक्रियताका साथ सहभागी हुन आफ्ना प्रतिनिधिलाई आह्वान गरेको छ ।
यही २७ र २८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महाधिवेशन पार्टीको इतिहासमा निर्णायक रहने भन्दै कास्की कांग्रेसले आफ्ना निर्वाचित महाधिवेशन प्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि अपिल गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले देशको समसामयिक राजनीतिक चुनौती र पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो महाधिवेशन ऐतिहासिक हुने उल्लेख गरेका छन् । विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रका बारेमा गम्भीर निर्णय लिनुपर्ने बेला आएको उल्लेख गरिएको छ ।
‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, यो लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो ऐतिहासिक घडीमा तपाईंहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो ।’
सभापति बरालले सबै महाधिवेशन प्रतिनिधिको सक्रिय र जिम्मेवार उपस्थितिले मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने बताएका छन् । ‘लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि कास्कीबाट निर्वाचित सम्पूर्ण प्रतिनिधिलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छौं,’ उनले भने । विशेष महाधिवेशनमा सहभागी हुन उनी काठमाडौं पुगिसकेका छन् ।
कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार कास्कीका ७८ जना महाधिवेशन प्रतिनिधिमध्ये ६१ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । तिनैमध्येकी मिलन थापा भने रास्वपा प्रवेश गरिसकेकी छन् । २६ पुससम्म हस्ताक्षरकर्ताको संख्या बढ्न सक्ने ढकालले बताए ।
विशेष महाधिवेशन पक्षधर प्रतिनिधि २६ पुससम्म काठमाडौं पुग्ने तयारी रहेको उनले जानकारी दिए । कास्कीका तीनमध्ये क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछाने र २ का सभापति केशरप्रसाद निर्दोषी पनि विशेष महाधिवेशनको पक्षमा छन् ।
